पाल्पा ।
पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा ८ जनाको ज्यान गुमेको छ । दुर्घटनामा परेर १८ जना घाइते भएका छन् । स्थानीयका अनुसार ज्यान गुमाउने मध्ये तिनाउ–६ चिदिसका रामबहादुर अस्लामी, कृष्णबहादुर अस्लामी, उर्मिला अस्लामी, दिल कुमारी अस्लामी रहेका छन् भने अन्य चार जनाको पहिचान खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार सदरमुकाम तानसेनको डुम्रेबाट तिनाउ गाउँपालिकास्थित चिदिसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप दुर्घटनामा परेको हो ।
प्रहरी र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगेका छन् । जीप सडकबाट खसेर क्षतिग्रस्त अवस्थामा भेटिएको हो ।













