अनुसन्धानलाई प्रभावित पार्ने प्रयास भएको भन्दै गृहमन्त्री श्रेष्ठ असन्तुष्ट

सुशासन भएन पनि भन्ने अनि दोषी देखिएका नेता, पहुँचवाला व्यक्ति र कर्मचारीलाई कारबाही गर्न हुन्न पनि भन्ने ?, कोही दोषी उम्कन दिइन्नँ

केन्द्रभाग मिडिया

 

पोखरा ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध अनुसन्धानलाई प्रभावित गर्नेगरी भएका विरोधलाई लिएर असन्तुष्टि प्रकट गरेका छन् । एकातर्फ सुशासनको माग गर्ने अनि अर्को तर्फ कारबाही प्रक्रिया अगाडि बढाउँदा विरोध गर्ने प्रविति रहेको भन्दै उनले असन्तुष्टि प्रकट गरेका हुन् ।

पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी पछि सञ्चारकर्मीसंग कुरा गर्दै उनले देश भ्रष्टाचारको सुचिमा यथावत रहेको स्विकार गरे । एम्नेष्टि इन्टरनेश्नलले दिएको तथ्यलाई स्विकार्नुपर्ने भन्दै उनले केही सुधार भएको पनि बताए । सोझासाझा जनता, सुकुम्बासी र मजदुरले भ्रष्टाचार नगर्ने भन्दै उनले नेता, कर्मचारी र व्यवसायीलाई कारबाही गर्दा विरोध भएकोमा आक्रोस समेत पोखेका छन् ।

‘एकातर्फ सुशासन कायम गर पनि भन्ने अनि अर्को तर्फ कोही नेता पर्यो भने राजनीतिक दल र नेता नै विरोधमा उत्रने, कोही कर्मचारी कारबाहीमा पर्यो भने कर्मचारी संगठनहरु कारबाहीमा उत्रने अनि कोही व्यपारी कारबाहीमा पर्यो भने व्यवसायीहरु आन्दोलनमा उत्रेपछि कारबाही कसलाई गर्ने हो ?’ उनले सोधे ।

पहुँच भएका सम्पन्नशाली बर्ग, सत्ताको नेतृत्व गरेका दलका नेताहरु र कर्मचारी नै भ्रष्टाचारमा संलग्न भएको उनले उल्लेख गरे । ‘सोझासाझा जनताले त भ्रष्टाचार गर्दैन । सुकुम्बासीले र मजदुरले भ्रष्टाचार गर्दैन । भ्रष्टाचार गरेर्का विभिन्न समयमा सत्तामा रहेका नेताहरुले नै हो । कर्मचारीले र राज्यसत्तामा पहुँच भएका सम्पन्नशाली बर्गले नै हो ।

उनीहरुलाई अनुसन्धान गरेर कारबाही गर्दा विरोध हुन्छ भने कारबाही कसलाई गर्ने ?’ उनले भने तर जतिसुकै विरोध गरेपनि देश लुट्नेलाई कुनै हालतमा यत्तिकै छाडिन्न । अब देश लुटे लुट्नुस भनेर यत्तिकै सहेर बस्न सकिन्न ।’

गृहमन्त्री श्रेष्ठले कुनैपनि निर्दोष मानिसलाई नफसाइने र दोषीलाई नछोडिने पनि प्रष्ट पारेका छन् । सुशासनका लागि काम गर्दा जनताका अपेक्षा पूरा नभएका हुनसक्ने भन्दै तथ्य र प्रमाणले भेटेका दोषीलाई कारबाही गरेरै छाड्ने दृढता प्रकट गरेका छन् ।

उनले छिट्टै शान्ति प्रक्रिया टुंग्याउने तयारीमा सरकार रहेको जानकारी दिए । सुशासन, सामाजिक न्याय र समृद्धिको अभिभारा पूरा गर्न सरकार लागिपरेको उनले बताए ।

संघीयता कार्यनयनकै चरणमा रहेको चर्चा गर्दै उनले कार्यान्वयनमा ढिलाइ हुँदा केही प्रश्न उठाइएकोस्विकार गरे । उनले संघीयता लागू भएसंगै चुनौती र अबसर दुबै रहेको उनले बताए । उनले संविधानले प्रत्यायोजित गरेका अधिकारलाई व्यवहारमा स्थापित गर्दै जनताको अवस्थामा सुधार ल्याएर जनतालाई समृद्ध बनाउने कार्यभार आफूहरूमा रहेको धारणा राखे ।

गृहमन्त्री श्रेष्ठले पुर्खाले आर्जेको स्वाभिमान र सार्वभौमिकतालाइ मजबुद पार्दै राष्ट्रिय एकतालाई सुदृढ गर्नुपर्नेमा उनले जोड दिए ।

गोष्ठीमा गण्डकी प्रदेशका सबै सुरक्षा अंगका प्रमुख, ११ वटै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी र सुरक्षा समितिका सदस्यको सहभागिता थियो ।

  • २० माघ २०८०, शनिबार १४:३० प्रकाशित