पोखरा ।
सहारा क्लव पोखराको अयोजनामा पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको उपाधिका लागि आज उपाधिका लागि थ्रीस्टार क्लव र त्रिभूवन आर्मी क्लव बीच भिडन्त हुँदैछ । थ्रीस्टार क्लव सेमीफाइनलमा जाउलाखेल युथ क्लवलाई १–० ले पन्छाउँदै फाइनलको यात्रा गरेको हो । थ्री स्टारले यसअघि प्रि–क्वाटरफाइनलमा आयोजक सहारा क्लव पोखरालाई २–१ र क्वाटरफाइनलमा भुटानको पारो एफसीलाई २–० ले पन्छाएको होे ।
त्रिभूवन आर्मीले भने सेमीफाइनलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लवलाई २–१ गोल पन्छाउँदै उपाधि भिडन्त पक्का गरेको हो । यसअघि प्रि–क्वाटरफाइनलमा मोफसलको नवलपुर राईजिङ क्लवलाई १–० र क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पीयन संकटा क्लवलाई ३–० गोल अन्तरले पन्छाएको थियो ।
पाँच पटकको उपाधि बिजेता थ्रीस्टार पुलिस पछि सर्बाधिक उपाधि जित्नेमा दर्ज छ । त्यसैले थ्रीस्टारलाई आहा ! रारा पोखरा गोल्डकपमा भाग्यमानी टिम मानिन्छ । तर त्यहि भाग्यमानी टिमबिरुद्ध भिड्ने त्रिभूवन आर्मी भने अभागी टिम मानिन्छ । निरन्तर सहभागि हुँदै आएको आर्मी चार पटक फाइनल पुगेरपनि उपाधि जित्न नसकेको अभागी टिम हो ।
आर्मी यसपटक जसरीपनि उपाधि जित्ने दाउमा छ । यसपटक राम्रो तयारी भएकाले उपाधि जित्नेमा आर्मीका कप्तान भरत खवास विश्वस्त छन् । अहिलेसम्म उपाधि जित्न नसक्नु आर्मीको दुर्भाग्य हो,शनिबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै उनले भने,‘तर यसपटक तयारी राम्रो छ । हामी उपाधि जित्नेमा विश्वस्त छौं ।’
प्रशिक्षक मेघराज केसीले युवा खेलाडी रहेको र उनीहरुले उपाधि जित्नेमा आफू ढुक्क रहेको बताए । आफ्नो पूर्व क्लव थ्रीस्टारबिरुद्ध उपाधि भिडन्तमा रहेका उनले भने,‘म पूर्व क्लवबिरुद्ध भिड्न तयार छु । हामी उपाधि जित्नका लागि आएका हौं र जित्न सक्षमपनि छौं ।’
पाँच पटक उपाधि जितेको थ्रीस्टारपनि उपाधिको जित संख्या थपेर नेपाल पुलिस क्लवको बराबरी गर्ने योजनामा छ । पुलिसले ६ पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेर सर्बाधिक उपाधि बिजेताको रुपमा आफूलाई उभ्याएको छ । कप्तान विराज महर्जनले भने,‘पूर्व मेट नै अहिलेको प्रशिक्षक भएकाले टिममा सहज वातावरण छ । यसैले खेल जित्न सहज हुने विश्वास छ ।’ उनले उपाधि भिडन्तका लागि आफूहरु तयार रहेको बताए ।