पोखरा ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जिल्लाका बस्ती बस्तीमा पोषण सचेतना अभियान सञ्चालन गर्नु पर्ने बताएका छन् ।
व्यक्तिको सर्वाङ्गिण विकास र स्वस्थ रहनको लागि पोषणको महत्त्वपूर्ण भुमिका रहने हुँदा सबै स्थानीय तहहरूलाई पोषण सचेतना अभियान सञ्चालन गर्न पौडेलले आग्रह गरेका हुन् ।
आइतबार कास्कीका स्थानीय तहका जनप्रतिनिधिहरू र पोषण सम्बद्ध सरोकारवालाहरू बीच भएको पोषण सम्बन्धि बैठक तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सो आग्रह गरेका हुन् ।
उनले हाल भइरहेको उत्पादन प्रक्रिया र पद्धतिले मानव स्वास्थ र समग्र इकोसिस्टममा नै खराब असर देखिएको विभिन्न अध्ययनबाट प्रमाणित भैसकेको अवस्थामा आफ्ना नीति कार्यक्रम कृषि लगायतका क्षेत्रमा तर्जुमा गर्न आग्रह गरे ।
सुचनाको प्रभावकारी व्यवस्थापन र प्रशारण सहितको जनचेतनामुलक कार्यक्रम आजको आवश्यकता रहेको पौडेलले बताए ।
पौडेलले जैविक मलको प्रयोग घट्नु र रासायनिक मल तथा किट्नाशक औषधिको बढ्दो प्रयोगले देखिएको प्रतिकुल परिस्थितिले मानव जिवन नै खतरा उन्मुख रहेको बताए ।अब सावधानी नअपनाउने हो भने भयावह संक्रामक रोगको प्रकोप बढ्न जाने पौडेलले उल्लेख गरे ।
कास्कीका जिल्ला समन्वय अधिकारी नबराज बरालले उत्पादन बढाउन प्रयोग हुने विषादीको प्रयोग क्रमश कम गर्दै जैबिक खेती प्रणाली पूर्ण रूपले अवलम्बन गर्नु पर्ने विचार राखे।
कार्यक्रममा स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्री आचार्यले बिभिन्न उमेर समुहमा आवश्यक पर्ने पोषण र त्यसको अभावमा हुन सक्ने सम्भावित जोखिमको चर्चा गर्दै कास्कीमा पोषणको अवस्थाको बारेमा चर्चा गरेका थिए।
त्यसै गरि कृषि ज्ञान केन्द्र कास्कीका कार्यालय प्रमुख किरण सिग्देलले माटोमा विषादीको प्रयोग , उत्पादन र पोषणको सम्बन्धका बारेमा चर्चा गरे ।
माटो तथा मल परिक्षण प्रयोगशाला पोखराका वरिष्ठ माटो विज्ञ सुनिल पाण्डेले विषादिको प्रयोगले माटोको प्राकृतिक उर्बरा शक्ति कम हुँदै गएको तथ्यांक प्रस्तुत गर्दै माटोको उर्वराशक्ति जोगाउन सरोकारवालाहरूले खेल्नुपर्ने भूमिकाको बारेमा चर्चा गरे ।
पाण्डेले अहिले माटोको अवस्था, माटोमा अम्लीयपन हराउनुको कारण ,माटोको विभिन्न जैविक तत्वहरुको ह्रासका कारण ,माटोको जैविक पन जोगाउदै उत्पादनशील माटो बनाउने उपायहरूको बारेमा चर्चा गरे ।
कार्यक्रममा पोषण सरोकारवाला रेस्टुरेन्ट तथा होटल सम्बद्ध उद्योगी, व्यवसायी, कृषि, उद्यमी तथा स्थानीय तहका जन प्रतिनिधिहरू सहित विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय कास्कीका अधिकृत याम बरालले गरेका थिए ।













