नौ वर्षीया बालिकालाई बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद

केन्द्रभाग मिडिया

जिल्ला अदालत दैलेखले बालिकालाई बलात्कार गर्ने एक वृद्धलाई जन्मकैदको सजाय सुनाएको छ।

सोमबार जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले नारायण नगरपालिका–८ ढकानेका ८६ वर्षीय प्रजापति रेग्मीलाई जन्मकैद सजाय सुनाएको हो।

बालिका बलात्कार कसुरमा रेग्मीलाई २५ वर्ष कैद, सात लाख रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार क्षतिपूर्ति दिने फैसला इजलासले गरेको दैलेख जिल्ला अदालतका सूचना अधिकारी हरिप्रसाद उपाध्यायले जानकारी दिए।

यस्तै, पीडकबाट भराई दुइ हजार ८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला पनि गरिएको छ।मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) मा १० वर्षभन्दा कम उमेरकी बालिकालाई जबर्जस्ती करणी गरेमा जन्मकैद हुने व्यवस्था छ।

पीडक प्रजापतिले २०७९ चैतमा नौ वर्षीया बालिकालाई बलात्कार गरेका थिए। २०७९ चैत २३ बालिकाको स्वास्थ्य परीक्षण रिपोर्टमा बलात्कार भएको पुष्टि भएको थियो। रेग्मीविरूद्ध जिल्ला सरकारी वकिल कार्यालयले २०८० वैशाख १४ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो।

  • १७ पुष २०८०, मंगलवार १६:३२ प्रकाशित