सर्वोच्चमा पेसी तोक्न गोलाप्रथाले पायो मान्यताः कसरी गरिन्छ गोलाप्रथा?

केन्द्रभाग मिडिया

काठमाडौं ।

सर्वोच्च अदालतमा पेसी तोक्नका लागि गोलाप्रथा प्रणालीले कानुनी मान्यता पाएको छ ।

आज नेपाल राजपत्रमा सर्वोच्च अदालत नियमावली २०७८ सम्बन्धी सूचना प्रकाशित भएसँगै पेसी गोलाप्रथाबाट तोक्न बाटो खुलेको हो । यद्यपि, यसलाई औपचारिकता दिन सर्वोच्च अदालतको ‘फुल कोर्ट’ ले निर्णय गर्नुपर्ने छ ।

पेसी तोक्ने विषयमा विवाद बढेपछि गत २ मंसिरमा प्रधानन्यायाधीशरहित पूर्ण बैठकले पेसी तोक्न गोलाप्रथा लागू गर्ने निर्णय गरेको थियो।

न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था गर्न सिफारिस गरेको छ भने न्यायाधीश मीरा खड्काको प्रतिवेदनले गोलाप्रथामा कसरी जाने भन्नेबारे कार्यविधि सुझाएको छ ।

फुलकोर्टले नियमावली संशोधन गरेसँगै राजपत्रमा सूचना प्रकाशित भएको हो ।

यसरी गरिन्छ गोलाप्रथा

निर्देशिका अनुसार गोला प्रक्रियाद्वारा बृहत् पूर्ण र पूर्ण, एक न्यायाधीशको इजलास र संयुक्त इजलास गठन हुनेछ । गोला तान्न समान रूप, रङ, आकार र बनोटका गोटी प्रयोग गरिनेछ।

गोटीलाई त्यसपछि अपारदर्शी थैलीमा राखिनेछ र न्यायाधीशहरूले वरिष्ठताका आधारमा एक–एकवटा गोटी तान्नुपर्ने निर्देशिकामा उल्लेख छ। त्यसरी तानेको गोटी सम्बन्धित न्यायाधीशले सीसी क्यामेरामा समेत रेकर्ड हुनेगरी सबैलाई देखाउनुपर्ने हुन्छ।

जसको अभिलेख आन्तरिक कम्प्युटर सञ्जालमा राखिन्छ। गोला प्रक्रियाद्वारा इजलास गठन गर्दा क्रमशः बृहत् पूर्ण वा पूर्ण, एक न्यायाधीशको इजलास र संयुक्त इजलास गठन हुनेगरी प्राथमिकता निर्धारण गरिने निर्देशिकामा छ । त्यसका लागि छुट्टाछुट्टै थैली र गोटीको व्यवस्था मिलाइने निर्देशिकामा उल्लेख छ।

  • ६ मंसिर २०७८, सोमबार १६:४४ प्रकाशित