पोखरा ।
पोखराको प्याराग्लाइडिङ उडान बन्द भएको छ ।आन्तरिक विवाद चुलिएपछि नागरिक उड्डयन प्राधिकरणले विवाद समाधान नहुँदासम्मका लागि सबै उडान बन्द गर्ने निर्णय गरेको हो ।
नेपाल हवाई खेलकुद संस्था ‘ना’ ले बुकिङ खुला गर्ने निर्णय गरेपछि यहाँका कम्पनीहरू दुई तिर फर्किएका छन् । एकाथरीले खुला बुकिङ सिस्टम ठिक भएको बताएका छन् भने अर्को थरीले गलत भनेका छन् । यही विवादबिच केही पाइलटहरूले पनि खुला बुकिङ सिस्टमले अस्वस्थ प्रतिस्पर्धा हुने भन्दै प्याराग्लाइडिङ नउडाउने निर्णयमा पुगेका छन् ।
पाइलट क्लबका अध्यक्ष दीपक थापा अस्वस्थ प्रतिस्पर्धाबाट रोक्नका लागि आफूहरूले एकद्वार प्रणालीमा जानुपर्ने माग राखेको बताएका छन् ।उनले आफूहरू छलफलकै क्रममा रहेकोले छिटै अवरोध हटाउने बताए ।
दुवै पक्षको विवाद चरम भएपछि प्राधिकरणले नै बन्द गरिदिएको हो । यसअघि पोखरामा अन्तर्राष्ट्रिय उडान हुने पक्का भएपछि तोरीपानीबाट हुँदै आएको प्याराग्लाइडिङ उडान मान्द्रेढुंगा सारिएको थियो । व्यवसाय धराशायी भएको गुनासोपछि तोरीपानीमै सारिएको छ । पोखरामा ६० भन्दा बढी कम्पनी छन् । १ सय ५० भन्दा पाइलट छन् ।