माधव नेपालले नै पार्टी छोड्नुभयो भने मैले पनि छोड्छु : सांसद गुरुङ

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका सांसद एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य राजिव गुरुङ (दीपक मनाङ्गे) ले पार्टी अध्यक्ष माधव नेपालले पार्टी छोडेमात्र आफूले एकीकृत समाजवादी छोड्ने टिप्पणी गरेका छन् । बिहीबार पोखरामा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष माधव नेपाललाई हेरेर आँफू एकीकृत समाजवादी प्रवेश गरेको बताएका उनले माधव नेपाल जत्तिको डाइनामिक नेता अरु नभएको समेत दाबी गरे । ‘एउटा अध्यक्षमा भिजन हुनुपर्छ । नेता डाइनामिक हुनुपर्छ । त्यो हाम्रो अध्यक्ष माधव नेपाल हुनुहुन्छ ।’ उनले भने, ‘म उहाँलाई नै हेरेर यो पार्टीमा आएको हुँ । उहाँले नै पार्टी छोड्नुभयो भने मैले पनि छोड्छु । अब पार्टी नै माओवादी/एमाले वा अरु पार्टीसंग एकता गर्यो भने म पनि त्यतै जान परिहाल्यो’

अरु सबै प्रदेशमा नेकपा एकीकृत समाजवादीलाई सरकारमा लैजाँदा गण्डकीमा नलगिएको प्रति संसद गुरुङले अश्चर्य प्रकट गरेका छन् । आफूलाई मन्त्री बन्न कुनै इच्छा नभएको टिप्पणी गरेका उनले केन्द्रमा भएको सहमति गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यान्वयन भने गर्नुपर्नेमा जोड दिए ।

मन्त्री बन्ने कुरा आफ्नो भन्दापनि आफ्नो पार्टी र गठबन्धनको कुरा भएको उनको भनाई थियो । ‘यहाँ मेरो कुरा होइन । पार्टीको कुरा हो । केन्द्रमा तीनवटा पार्टीका अध्यक्षले भनेपछि यहाँ मुख्यमन्त्रीले कार्यान्वयन गर्नुपर्ने हो । हाम्रो अध्यक्षले यहाँको मुख्यमन्त्रीलाई फोन गर्ने होइन माथि प्रचण्ड र शेरबहादुर देउवालाई भन्ने हो’ उनले भने ।

  • २८ मंसिर २०८०, बिहीबार १४:२८ प्रकाशित