कागजात किर्ते आरोपमा विमानस्थल अध्यागमनका अधिकृत पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेको आरोपमा प्रहरीले विमानस्थल अध्यागमनका अधिकृतलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नरवीर खड्कालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।

प्रहरीले नेपाल वायुसेवा निगममा कार्यरत ३ जना अधिकृतहरूलाई पनि पक्राउ गरेको छ । वायुसेवामा कार्यरत अधिकृतहरू अरविन्द यादव, विश्वनाथ कोइराला र होमनाथ पोखरेल पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधवार पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिएको छ ।

किर्ते कागजात प्रकरणमा यसअघि नक्कली कागजात तयार गर्ने समूह, कन्सल्टेन्सी सञ्चालक र ट्राभल एजेन्सी सञ्चालकहरू पनि पक्राउ परेका थिए । हालसम्म ३२ जनालाई पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए ।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले सङ्कलन गरेर पठाएको १ हजार ३२ थान भिसा सहितका कागजातबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो । डिएसपी गोविन्द पन्थीको नेतृत्वमा अनुसन्धान अधिकृतहरूले सो प्रकरणको अनुसन्धान गरिरहेका छन् ।

  • २७ मंसिर २०८०, बुधबार १४:३२ प्रकाशित