जनकपुरधाममा आजबाट विवाह पञ्चमी महोत्सव

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

सबैभन्दा ठूला उत्सवहरूमध्ये एक साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सव आजबाट सुरू हुँदै छ ।

त्रेतायुगमा भगवान् राम र सीताको विवाह मंसिर शुक्ल पञ्चमीका दिन सम्पन्न भएको सम्झनामा जानकी मन्दिरले हरेक वर्ष साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सव आयोजना गरिँदै आएको छ ।

आज पहिलो दिन ‘नगर दर्शन’ कार्यक्रम हुनेछ । भगवान् राम पहिलो पटक तत्कालीन मिथिलाको राजधानी जनकपुरधाम आएको सम्झनामा ‘नगर दर्शन’कार्यक्रम गरिन्छ । ‘नगर दर्शन’ कार्यक्रम आज साँझ जानकी मन्दिर परिसरमा आयोजना गरिएको छ ।

दोस्रो दिन फूलबारी लीला (विवाह मण्डपको फूलबारीमा), तेस्रो दिन धनुषयज्ञ (रंगभूमि मैदानमा), चौथो दिन तिलकोत्सव (राम मन्दिर परिसरमा) र पाँचौँ दिन मटकोर(गंगासागर पोखरी घाटमा)मा गरिनेछ । छैटौँ दिन अर्थात् पुस १ गते सीताराम स्वयंवर तथा शुभ विवाह र सातौँ दिन (राम कलेवा) कार्यक्रम तय गरिएको छ ।

विवाह पञ्चमीमा भगवान् रामको जन्मभूमि अयोध्याबाट प्रत्येक ५ वर्षमा जन्ती आउने चलन छ । महोत्सवमा सबैभन्दा ठूलो आकर्षण नै भारतको अयोध्याबाट आउने जन्ती हुन्छ । हुन त यो वर्ष औपचारिक रूपमा यस वर्ष जन्ती आउने छैन । तर अयोध्याका केहि साधु सन्त आउने जानकी मन्दिरका सहायक महन्त रामरोषण दास वैष्णवुले जानकारी दिए ।

  • २६ मंसिर २०८०, मंगलवार १०:१० प्रकाशित