गण्डकीमा यसवर्ष धान उत्पादन बढ्यो, कुन जिल्लामा कति भयो उत्पादन ?

३ लाख ३ हजार ६३७ मेट्रिक टन उत्पादन, गत वर्षभन्दा ३.९५ प्रतिशत उत्पादकत्वमा वृद्धि

गोविन्द सुवेदी

पोखरा ।

गण्डकी प्रदेशमा यस वर्ष गत वर्षको तुलनामा धानको उत्पादन र उत्पादकत्व दुबै बढेको छ । गत वर्षभन्दा धान बाली लगाएको क्षेत्र कम भएपनि उत्पादन र उत्पादकत्व दुबै बढेको कृषि विकास निर्देशनालय गण्डकीले जानकारी दिएको हो ।

कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मीका अनुसार यस वर्ष गण्डकीमा वर्ष वर्षे धान ३ लाख ३ हजार ६३७ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष तीन लाख ७५ हजार ३३२.४९ मेट्रिक टन उत्पादन भएको थियो ।

समग्रमा यस वर्ष ३.९५ प्रतिशतले उत्पादकत्व बढेकोे उनले बताए । यो वर्ष गण्डकीमा जम्मा ९६ हजार ५३ हेक्टरमा धान खेती गरिएको थियो । गत आथिक वर्ष २०७९/८० मा गण्डकीमा एक लाख ४ हजार १४८ हेक्टर जमिनमा धान रोपाइँ गरिएको थियो । यस वर्ष गत वर्षको तुलनामा ८ हजार ०९५ हेक्टर कम जमिनमा धान रोपाइँ भएको हो ।

यस वर्ष समयमै प्रयाप्त मात्रामा पानी नपर्दा धान रोप्न मिल्ने जमिनमा समेत कम रोपाइँ भयो । गण्डकीमा १ लाख ५१० हेक्टर जमिनमा धान रोप्न सकिने भएपनि त्यसभन्दा कम जमिनमा धान खेती भएको महानिर्देशक रेग्मी बताउँछन् । सुरुमा पर्याप्त वर्ष नभएपनि किसानले समयमै मल पाएको, उन्नत जातका बिउ लगाएकाले र पछि वर्षाले पनि साथ दिँदा उत्पादन बढेको महानिर्देशक रेग्मीले जानकारी दिए । ‘यस वर्ष गत वर्षको तुलनामा कम जमिनमा खेती भएको छ । तर, पनि उत्पादकत्व बढ्दा समग्रमा उत्पादन पनि राम्रो भएको छ’ उनले भने ।

कुन जिल्लामा कति उत्पादन ?

प्रदेशका ११ वटा जिल्ला मध्य नवलपुरमा सबैभन्दा धेरै धान उत्पादन भएको छ । उक्त जिल्लामा ७७ हजार ८६५ मेट्रिक टन धान उत्पादन भएको छ । १८ हजार ७१६ हेक्टर जमिनमा यस वर्ष धान रोपाइँ भएको थियो । गत वर्ष उक्त जिल्लामा १८ हजार ६१८ हेक्टर जमिनमा धान रोपाइँ भएकामा ७६ हजार ९५६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

गोरखामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन घटेको छ । गत वर्ष भन्दा कम जमिनमा खेती उक्त जिल्लामा धान रोपाइँ गरिएको थियो । गत वर्ष ४२ हजार ६५५ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ३८ हजार ३९२ मेट्रिक टन उत्पादन भएको हो । उक्त जिल्लामा गत वर्ष ११ हजार २२५ हेक्टरमा धान रोपाइँ भएकामा यस वर्ष १० हजार १४० हेक्टरमा धान लगाइएको थियो । कृषि ज्ञान केन्द्र गोरखाका अनुसार बर्षाको कमि र लम्पि स्किन रोगका कारण जोत्ने गोरु समेत मरेका कारण धान उत्पादन कम भएको हो ।

लमजुङमा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन बढेकोे छ । गत वर्ष ३० हजार ७०२ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ३९ हजार १८७ मेट्रिक टन धान उत्पादन भएको छ । उक्त जिल्लामा गत वर्ष ९ हजार ३८९ हेक्टरमा धान रोपाइँ भएकोमा यस वर्ष ११ हजार ८७५ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो । गत वर्षको तुलनामा रोपाइँ गरिएको क्षेत्र फल समेत बढी हो ।

तनहुँमा यसपाली गत वर्षको तुलनामा धान रोपाईँ कम क्षेत्रमा भएपनि उत्पादन भने प्रशस्त बढेको पाइएको छ । तनहुँमा यस वर्ष ४४ हजार ८३ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष ८ हजार ७२० हेक्टरमा धान लगाइएकोमा ४३ हजार ९८३.१५ मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष कम जमिनमा धान रोपाई भएपनि सिचाइँ सुविधा सुनिस्चित भएकोले उत्पादन बढेको हो । गण्डकी प्रदेशका अरु जिल्लाको तुलनामा तनहुँमा सबैभन्दा धेरै उत्पादकत्व बढको छ । उक्त जिल्लामा यसपाली ५.७४ प्रतिशत उत्पादकत्व बढेको हो ।

कास्कीमा यस वर्ष ६१ हजार ४६३.७ मेट्रिक टन धान फलेको छ । उक्त जिल्लामा गत वर्ष ५९ हजार ५३१ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्ष १९ हजार ८२७ हेक्टरमा जमिनमा धान रोपाइँ भएकामा यस वर्ष १६ हजार २२० हेक्टरमा धान रापाइँ भएको थियो ।

पर्वतमा यस वर्ष २६ हजार १२० मेट्रिक टन धान फलेको छ । गत वर्ष उक्त जिल्लामा २६ हजार ३४७ मेट्रिक टन धान उत्पादन भएको थियो । पर्वतमा यसवर्ष ७ हजार ५२४ हेक्टर जमिनमा धान रोपाइँ गरिएकोमा गत वर्ष ७ हजार ७८४ हेक्टरमा धान रोपाइँ भएको थियो । पर्वतमा यस वर्ष असिना परेको, खैरो थोप्ले रोगले क्षति पुर्याएको, खुमाल ४ धान ढलेका कारण उत्पादन कम भएको प्रदेश कृषि निर्देशनालयले दिएको जानकारीमा उल्लेख छ ।

स्याङ्जामा यस वर्ष ६३ हजार ५९७ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष उक्त जिल्लामा ६२ हजार ६९३.३४ प्रतिशत धान उत्पादन भएको थियो । गत वर्ष १६ हजार ३०७ रोपनी क्षेत्रफलमा धान रोपाइँ गरिएकामा यस वर्ष जम्मा १४ हजार ३९० हेक्टर जमिनमा धान खेती गरिएको हो ।

म्याग्दीमा यस वर्ष १२ हजार ४१६ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष उक्त जिल्लामा गत वर्ष १२ हजार ५९ मेट्रिक टन धान उत्पाद भएको थियो । गत वर्ष ३ हजार ८९० हेक्टर जमिनमा धान रोपाइँ भएकोमा यसवर्ष ३ हजार ८०६ रोपनी जमिनमा धान रोपाइँ भएको थियो ।

वगलुङमा यस वर्ष २० हजार ५१० मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष उक्त जिल्लामा २० हजार ४०६ मेट्रिक टन धान उत्पादन भएको हो ।

 

  • २१ मंसिर २०८०, बिहीबार १८:४१ प्रकाशित