सरकार छिमेकीसँग डराउँदा पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन : ओली

केन्द्रभाग मिडिया

बागलुङ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार छिमेकीसँग डराएकाले पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसकेको बताएका छन् ।

समृद्धिका लागि संकल्प यात्रा’ का क्रममा ८औं दिन बागलुङ बजारमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले पोखरा विमानस्थल आफूले बनाएर छाडेको उल्लेख गर्दै उनले छिमेकीसँग डराएकाले सरकारले सञ्चालन गर्न नसकेको उनले बताए ।

‘यो सरकार कम्फरटेबलवाला हो, त्यसैले ऊ रिसाउँछ कि भनेर जहाज ल्याउन दिएको छैन,’ ओलीले भने, ‘न कुर्सी छाड्छ, न काम गर्छ, यस्तो देख्दा एमालेको मन पोलेको छ ।’ ओलीले मिसन–०८४ मार्फत एमालेले एकल सरकार बनाएर जनताका सपना पूरा गर्ने दाबी गरे ।

ओलीले वर्तमान सरकार राष्ट्रघाती र बेइमान भएको बताएका छन् । नेपालको चरम असफलतामा गैरजिम्मेवार सरकार र गठबन्धन भएको पनि ओलीको आरोप छ ।

‘देशमा अराजकता बढाउने, गैरराजनीतिक कुसंस्कारलाई प्रश्रय दिने, जनतामा निराशा बढाउने यो सरकार लाज पचाएर कुर्सीमा बसेको छ,’ ओलीले भने, ‘यो सरकारले न विकास गर्छ, न राष्ट्रिय हितमा काम गर्छ ।’ यही सरकार रहिरहे देश बर्बाद हुनेसमेत ओलीको भनाइ छ ।

  • २१ मंसिर २०८०, बिहीबार १६:१४ प्रकाशित