अर्थतन्त्रको सुधार सर्वसाधारणले महशुस गर्न सकेका छैनन् : प्रधानमन्त्री प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको वर्तमान आर्थिक दृश्य सकारात्मक भए पनि त्यसको महसुस आम सर्वसाधारणले गर्न नसकेको बताएका छन् ।

बिहीबारदेखि काठमाडौँमा सुरु भएको रेस्पोन्सेवल बिजनेस समिट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तथ्याङ्क हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ । तर, व्यवहारमा आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति हाम्रा सामु छ।

त्यसैले मैले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत् बैठक र केही नयाँ घोषणसमेत गर्ने तयारी गरिरहेको छु। यसमा समेत यहाँहरूको सक्रिय सहभागिता, महत्त्वपूर्ण सुझाव र कार्यान्वयनमा जिम्मेवारीवोध एवं तत्परता रहनेछ भन्ने मैले विश्वास लिएको छु ।’

मुलुकको प्रमुख साझेदार निजी क्षेत्र मात्र होइन, सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार रूपमा प्रस्तुत हुन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदममा सबैको साथ र सहयोगको लागि आग्रह समेत गरे।

जिम्मेवार व्यावसायिक अभ्यासहरू नैतिक सामाजिक दृष्टिकोणबाट मात्र नभई व्यावसायिक रणनीतिका हिसाबले पनि फाइदाजनक छन्। जिम्मेवार अभ्यासहरुमार्फत् व्यवसायहरूले दिगो विकासमा योगदान दिन र समाजमा सकारात्मक प्रभाव सिर्जना गर्न सक्छन् अध्यक्ष प्रचण्डको भनाइ छ ।

  • २१ मंसिर २०८०, बिहीबार १३:३१ प्रकाशित