काठमाडौ ।
एनसेल आजियाटाले शेयर खरिद बिक्रीमा नेपालको कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको छ । एनसेल आजियाटाले नेपाल दूरसन्चार प्राधिकरणलाई जवाफी पत्र पठाउँदै नेपालको कानूनको पालना गर्न प्रतिबद्ध रहेको जनाएको हो ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियाटाको जवाफ प्राप्त भएको भन्दै एनसेल खरिद बिक्रीमा कम्पनीले नेपालको कानून पालन गर्न तयार रहेको उल्लेख गरेको बताए । आजको अर्थ समितिको बैठकमा खनालले एनसेल खरिद बिक्री प्रकरणबारे जवाफ दिइरहेका छन् ।
मंसिर १५ गते शेयर खरिद बिक्रीको पूर्व स्वीकृति नदिई एनसेल आजियाटा बिक्री भएको खुलासा भएपनि प्राधिकरणले एनसेल आजियाटालाई पत्र लेख्दै शेयरधनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नु पर्ने व्यवस्था स्मरण गराएको थियो ।
आजियाटा ग्रुप बरहादले १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेको एनसेलको सेयर करिब ६ अर्ब ६५ करोड (५ करोड अमेरिकी डलर)मा बिक्री गर्ने सम्झौता गरेपछि विवाद हुँदै आएको छ । बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेले आजियाटाको ८० प्रतिशत शेयर खरिद गर्ने सम्झौता गरेको हो । यो विषयमा सरकारले छानबिन गर्ने बताइसकेको छ ।