एमालेको मेची-महाकाली अभियान सुरु, ओलीद्धारा उद्घाटन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले बैतडीको झुलाघाटबाट मेची-महाकाली अभियान सुरु गरेको छ ।

अभियानको अध्यक्ष केपी शर्मा ओलीले आज बिहान उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा उनले यो अभियानले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन मद्दत गर्ने बताए ।

जनताले मात्रै देशलाई अघि बढाउने भएकोले आफूहरू जनतामा फरक ढंगले गइरहेको बताउँदै उनले समृद्ध नेपाल सुखी नेपालीका लागि यो यात्राले योगदान गर्ने बताए ।

यात्राका क्रममा एमालेले ठाउँ–ठाउँमा आमसभाको आयोजना गर्नेछ । बैतडीको झुलाघाटमा पदयात्रा शुभारम्भ कार्यक्रमको तयारी पूरा भएको नेकपा एमालेका नेता दामोदर भण्डारीले बताए ।

अध्यक्ष ओलीले त्रिपुरा सुन्दरी मन्दिरको दर्शन, सहिद दशरथ चन्दको घरमा पुगेर शालिकमा माल्यार्पण, पार्टी कार्यालय उद्घाटनलगायतका कार्यक्रममा ओली सहभागी हुने तय भएको छ । बैतडीको गोठलापानीमा आयोजना हुने आमसभालाई पनि ओलीले सम्बोधन गर्नेछन् ।

सुदूरपश्चिम खण्डमा झुलाघाटदेखि वनखेतसम्मको ३५८ किलोमिटर यात्राको बीचमा डडेल्धुरा, डोटी, अछामको साँफेबगर र मंगलसेनमा आमसभा हुनेछ ।

झुलाघाटबाट सुरु भएको अभियान पुस २ गते पाँचथर जिल्लाको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुनेछ ।यो अभियानलाई एमालेले ‘संकल्पको यात्रा’ नाम दिएको छ ।

अभियान सम्पन्न भएपछि पुस ५ गते काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेर अनुभव र निष्कर्ष सार्वजनिक गर्ने एमालेले जनाएको छ ।

  • १४ मंसिर २०८०, बिहीबार ०९:५० प्रकाशित