काठमाडौं ।
नेकपा एमालेले आज मेची–महाकाली यात्रा सुरु गर्दैछ । ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर आजदेखि बैतडीको झुलाघाटबाट एमालेले मध्यपहाडी लोकमार्गको पदयात्रा सुरु गर्न लागेको हो । यात्राको आरम्भ एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले विहान ९ बजे पश्चिम बिन्दु झुलाघाटमा गर्ने एमाले नेताहरुले जानकारी दिएका छन् । पदयात्रा १ हजार ८ सय ७९ किलोमिटरको मध्यपहाडी लोकमार्ग अन्तर्गत पूर्वको चिवाभञ्ज्याङ पुगेर टुंगिनेछ । जसका लागि एमालेको शीर्ष नेतृत्व बैतडीको झुलाघाट पुगेको छ ।
यात्राका क्रममा एमालेले ठाउँ–ठाउँमा आमसभाको आयोजना गर्नेछ । बैतडीको झुलाघाटमा पदयात्रा शुभारम्भ कार्यक्रमको तयारी पूरा भएको नेकपा एमालेका नेता दामोदर भण्डारीले बताए । अध्यक्ष ओलीले त्रिपुरा सुन्दरी मन्दिरको दर्शन, सहिद दशरथ चन्दको घरमा पुगेर शालिकमा माल्यार्पण, पार्टी कार्यालय उद्घाटनलगायतका कार्यक्रममा ओली सहभागी हुने तय भएको छ । बैतडीको गोठलापानीमा आयोजना हुने आमसभालाई पनि ओलीले सम्बोधन गर्नेछन् ।
सुदूरपश्चिम खण्डमा झुलाघाटदेखि वनखेतसम्मको ३५८ किलोमिटर यात्राको बीचमा डडेल्धुरा, डोटी, अछामको साँफेबगर र मंगलसेनमा आमसभा हुनेछ । पदयात्रामा निस्किने टिमलाई सुदूरपश्चिमको टोलीले वनखेतबाट बिदाइ गर्नेछ । करिब १९ दिनसम्म सञ्चालन हुने पदयात्राका क्रममा बाटोमा पर्ने ठाउँको विकास सम्भावना र समृद्धिबारे छलफल, बहस र अध्ययन हुने एमाले नेताहरू जानकारी दिएका छन् ।













