राजावादी शक्ति समस्याको विकल्प हुन सक्दैन : चित्रबहादुर केसी

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय जनमोर्चाले गणतन्त्र र धर्म निरपेक्षतालाई चुनौती दिने शक्ति अहिलेको समस्याको विकल्प हुन नसक्ने बताएको छ ।

देशमा कुशासन र भ्रष्टाचारले नागरिकको जीवनस्तर खस्किएको, अर्थतन्त्र संकट देखिएको र बेरोजगारी बढेको राजमोको निष्कर्ष छ । तर यो समस्या समाधानको उपाय गणतन्त्र र धर्म निरपेक्षतालाई चुनौतै दिने शक्तिसँग नरहेको अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् ।

‘प्रतिगामी शक्तिहरूले जनतामा बढ्दै गइरहेको असन्तोषको फाइदा उठाएर जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई समाप्त मात्र गर्ने छन् र देशलाई अँध्यारो युगतिर फर्काउने छन्’, केसीले मंगलबार विज्ञप्तिमार्फत भनेका छन् ।

अहिलेको समस्या समाधानको उपाय भनेको कुशासन र भ्रष्टाचारको अन्त्य गरी सुशासन र सुदृढ गणतान्त्रिक व्यवस्था स्थापना नै हुने केसीको भनाइ छ । ७ मंसिरमा राजतन्त्रको पक्षमा भएको प्रदर्शनले अहिले पनि मुलुकमा प्रतिगमनको प्रयत्न भइरहेको पुष्टि हुने राजमोको निष्कर्ष छ ।

  • १२ मंसिर २०८०, मंगलवार १५:४९ प्रकाशित