गण्डकीमा उष्णप्रदेशीय रोग निवारण गर्ने प्रतिबद्धता

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा उपेक्षित उष्णप्रदेशीय र किटजन्य रोगहरुको निवारणका लागि प्रतिबद्धता जनाइएको छ ।

गण्डकीको सामाजिक तथा स्वास्थ्य मन्त्रालय र मातहतका निकायहरुले उक्त प्रतिबद्धता जनाएका हुन् । यसैका लागि स्वास्थ्य निर्देशनालय पोखराले गत वर्ष २०७९/०८० का कामहरुको समिक्षा गरेको छ भने नयाँ कार्यक्रमको तयारी गरेको छ ।

सरकारले अवलम्बन गरेको स्वास्थ्य रणनीति २०७६ को परिकल्पना अनुसार लक्ष्य हासिल गर्न सबै तह एकजुट भएर लाग्नुपर्ने कार्यक्रमका सहभागीहरुले बताएका छन् । एक स्वास्थ्यको अवधारणा, मानव, पशुपंछी र वातावरणीय अन्तरसम्बन्धको प्रभावकारी व्यवस्थापनमा बहुपक्षीय समन्वय, सहकार्य र सञ्चारको पैरवीका लागि कार्यक्रम गरिएको हो ।

नयाँ र पुनः देखा परेका महामारी, जुनोटिक, किटजन्य संक्रामक तथा सरुवा रोगहरूको नियन्त्रण गर्न निरन्तर निगरानी आवश्यक रहेको सरोकारवालाहरु बताउँछन् ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, अर्थ मन्त्रालय, कृषि तथा भुमि व्यवस्था मन्त्रालय, प्रदेश नीति तथा योजना आयोग, पश्चिमाचल क्षेत्रिय अस्पताल, प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, सरुवा तथा संक्रामक रोग अस्पताल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, प्रदेश स्वास्थ्य तालिम केन्द्र, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, संघीय, प्रादेशिक तथा जिल्ला अस्पतालहरु ,११ जिल्लाका स्वास्थ्य कार्यालय र निजी अस्पताल बीच उच्चस्तरीय प्रतिबद्धता कायम गरिएको कार्यक्रमकी फोकल पर्सन सुशीला कार्कीले जानकारी दिइन् ।

उनका अनुसार औलो, स्क्रब टाइफस, डेंगु, चिकनगुनिया, रेबिज, कालाजार, हात्तीपाईले र सर्पदंश रोगहरुको निवारण र नियन्त्रण गर्ने प्रतिबद्धता जनाइएको छ । उनीहरुले यस्ता रोगहरुलाई जनस्वास्थ्यको समस्याको रुपमा रहन नदिन बृहत छलफल र अन्तरक्रिया गरेका हुन् । सबै मन्त्रालय र कार्यालयहरुले आगामी कार्ययोजनामा प्रतिबद्धता अनुसारको काम गर्नुपर्ने बताइएको छ ।

गण्डकी स्वास्थ्य महानिर्देशक खीम बहादुर खड्काले कुनै एक निकायको मात्रै प्रयासले प्रतिबद्धता पूरा नहुने भन्दै सबै पक्ष निरन्तर लाग्नुपर्ने बताए । स्वास्थ्य मन्त्री सुशीला सिंखडाले सीमित स्रोत र साधनको उच्चतम प्रयोग गर्ने र जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाइन् ।

  • १६ कार्तिक २०८०, बिहीबार ०९:२८ प्रकाशित