दिल्लीमा प्रदुषणले खतराको तह पार गर्‍यो: बच्चाहरुमा छातीको समस्या, स्कुल कलेज बन्द

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतको राजधानी नयाँदिल्लीका स्कुल कलेज बन्द गरिएको छ । दिल्लीमा वायू प्रदुषण चरम स्तरमा पुगेपछि शैक्षिक संस्थाहरु बन्द भएका हुन ।

केही दिनयता दिल्लीको आकाश ‘विषालु’ तुँवालोले ढाकेर प्रदूषित भएको छ। स्वास्थ्य जोखिम बढेको भन्दै राज्य सरकारले नै स्कुल विदा दिने निर्णय गरेको हो।

त्यस्तै २१ नोभेम्बरसम्म यहाँ ट्रकहरूलाई प्रवेश निषेध छ भने सरकारी कार्यालयहरू पनि आधा कर्मचारी मात्र राखेर चलाउन भनिएको छ।यसबाहेक त्यहाँ जेनेरेटर चलाउन मनाही छ। केही अत्यावश्यकलाई छाडेर कोइलाबाट चल्ने अधिकांश कारखाना बन्द गरिएको छ।

दिल्लीमा गत तिहारपछि तुँवालो यति बाक्लो भएको छ, गाडी चलाउँदा दुई–तीन मिटर दुरीकै दृश्य देखिँदैन। तिहारपछि संसारकै बढी प्रदूषित वायु भएको सहर बनेको दिल्लीमा प्रदूषणको मात्राले खतराको तह पार गरिसकेको छ।

दिल्लीका आधाभन्दा बढी वयष्क जनसंख्यामा फोक्सोको समस्याका लक्षण देखिएको र बच्चाहरू पनि छातीको समस्याबाट ग्रसित बनेको चिकित्सकहरुले बताएका छन् ।

  • १ मंसिर २०७८, बुधबार १५:१० प्रकाशित