पोखरा ।
नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरबहाल कर घर धनीले नै तिर्नुपर्ने बताएको छ । राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले सोमबार दसैं, तिहार, छट लगायतका चाडबाडको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै समितिका केन्द्रीय उपाध्यक्ष यमनाथ पौडेलले यस्तो बताएका हुन् ।
उनले पोखरामा घरबहाल कर घरबेटील तिर्ने विषयमा महानगरका प्रमुख धनराज आचार्य सकारात्मक रहेपनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको गुनासो गरे । ‘हामीले पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई घर बहाल कर घरबेटीले नै तिर्ने व्यवस्था गर्न आग्रह गर्यौं । उहाँले पनि यहि गर्ने हो भन्नुभयो । तर व्यवहारमा लागु हुन सकेको छैन । महानगरले यसका लागि बाध्यकारी नीति ल्याउनुपर्छ’ उनले भने ।
घरबहालको सन्दर्भमा बनाइएको कानूनमा घरबेटी र भाडामा बस्नेले छोड्न छोडाउन चाहे तीन महिना अगाडि सूचना दिए हुने भन्ने प्रावधान नै त्रुटीपूर्ण रहेको उनको भनाई छ । व्यवसायीले लाखौंको लगानी गरेको हुन्छ । फाइदा देख्यो भने घरबेटीले विभिन्न बहाना बनाएर तीन महिनाको प्रावधानलाई देखाउँछ’ उलने भने । उपाध्यक्ष पौडेलले घरभाडामा बस्ने र दिने दुबै पक्षको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताए ।
घरभाडा सरोकार समिति कास्कीका अध्यक्ष कमल प्रसाद न्यौपानेले पनि घरबहाल कर घरबेटीले नै तिर्नुपर्नेमा जोड दिए । त्यसका लागि आफूहरुले निरन्तर आवाज उठाइरहने उनको भनाई छ । कोभिड १९ संक्रमण, विश्वमा देखिएको आर्थिक मन्दी लगायतका कारण व्यवसायी र सामान्य घरमा डेरा लिएर बस्नेहरुलाई समेत समस्या रहेको उनले सुनाए । घर वषौंसम्म खालि राख्नुभन्दा भाडा घटाउन उनले घरधनीहरुलाई आग्रह गरेका छन् । अहिले भइरहेका व्यवसायीलाई हटाउँदा वषौंसम्म अब घर भाडामा नजाने अवस्था रहेको तर्फ सचेत रहने उनलको आग्रह थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अमृत घिमिरे, घरभाडा सरोकार समिति कास्कीका सल्लाहकार उदयबहादुर केसी र विष्णु प्रसाद वास्तोला, पृथ्वी होटल व्यवसायी समितिका सल्लाहकार इन्द्र मगर, घरभाडा सरोकार समिति कास्कीका महासचिव कृष्ण चापागाइँ र सचिव नारायण सुवेदी लगायतले उक्त अवसरमा शुभकामना दिएका थिए ।