नेपाली भूमि कालापानी क्षेत्रमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमण, स्थानीय प्रशासन बेखबर

केन्द्रभाग मिडिया

काठमाडौँ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि कालापानी क्षेत्र हुदै भ्रमण गरेका छन् । मोदीको नेपाली भूमिमा भएको भ्रमणबारे स्थानीय प्रशासन भने बेखबर रहेको पाइएको छ ।

नेपालको दार्चुलासँग सीमा जोडिएको धार्चुला हुँदै भारतीय प्रधानमन्त्री मोदीले कैलाश पर्वत र पार्वती सरोवर दर्शन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले बिहीबार बिहान साढे ९ बजे नेपाली सीमाभित्र रहेका गुन्जीका सात गाउँ ९गुन्जी, नाभि, कुटी, रोङकाङ, चपलच्यु गर्ब्याङ र बुदी० को भ्रमण गरेका थिए ।

यस विषयमा दार्चुला जिल्ला प्रशासन कार्यालयका प्रमुख किरण जोशीले आफूलाई कुनै जानकारी नभएको बताइन् । उनले भनिन्,‘ नेपाली नक्सामा समेटिका गाउँहरु भारतले औपचारिक रुपमा हस्तान्तरण नगरेका कारण त्यहाँ नेपालीलाई जाने अनुमति छैन । त्यहाँ नेपालीलाई हेर्न समेत दिइँदैन ।’

नेपालका अतिक्रमित भूमीहरु गुन्जी, नाभि, कुटी, रोङकाङ, चपलत्तयु, गब्र्याङ र बुदी नेपाली नक्सामा परेपनि भारतले अस्वीकार गर्दै आएको र यो कुटनीतिक विषय भएकाले आफूले धेरै बोल्न नमिल्ने प्रमुख जिल्ला अधिकारी जोशीले बताइन् ।

भारतीय प्रधानमन्त्री मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि छलफल गरेका छन् ।
प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका छन् ।

  • २५ आश्विन २०८०, बिहीबार १५:२४ प्रकाशित