एमाले गण्डकी अधिवेशन

उपमहासचिव गुरुङको शक्ति घटाउन महासचिव पोखरेलको कसरत !

केन्द्रभाग मिडिया

पोखरा ।

प्रदेशसभाको अघिल्लो कार्यकालमा नेकपा एमालेले गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आफ्नो पार्टीका हेविवेट नेतालाई प्रदेशमा ओरालेको थियो । प्रदेशमा झरेर दुबै प्रदेशको संस्थापक मुख्यमन्त्री बन्ने अवसर हाल एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र हाल एमालेका महासचिव शंकर पोखरेलले प्राप्त गरे ।

संघीयताको विषयमा तत्कालिन ओली नेतृत्वको संघीय सरकारलाई गण्डकीका तत्कालिन मुख्यमन्त्री गुरुङले धावा बोले । उनले ओली सरकारलाई नै ‘संघीयता विरोधी, एकात्मक र पञ्चायती शैलीले अगाडि बढेको’ जस्ता टिप्पणी गरे । संघ सरकारसंग अधिकार प्रप्तिका लागि प्रदेश मुख्यमन्त्रीहरुको भेला पोखरामा गरेर ओली नेतृत्वको संघीय सरकारलाई उनले चुनाती नै खडा गरिदिए ।

तत्कालिन लुम्बिनीका मुख्यमन्त्री पोखरेलले ओली नेतृत्वको संघीय सरकारले अधिकार नदिएको विषयमा सुनिनेगरी आवाज उठाएनन् । बरु ओलीले जे गरे त्यसैमा बोली मिलाए । तिनै पोखरेल नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मासंग पराजित हुँदा गुरुङ माओवादी केन्द्रका महासचिव देव गुरुङलाई पराजित गर्दै अहिले संघीय संसदमा छन् ।

पार्टीको १० औं महाधिवेशनमा ओलीको खल्तिबाट निकालिएको लिष्टबाट लुम्बिनीका संस्थापक मुख्यमन्त्री पोखरेल महासचिव थिए । गण्डकीका संस्थापक मुख्यमन्त्री गुरुङ यसरी ओलीले निकालेको लिष्टको उपमहासचिवमा अटाए । लिष्ट बनाउन सहयोग गर्ने उनै हालका महासचिव पोखरेल र महासचिवको आकांक्षा राखेर पनि उपमहासचिव बनेका गुरुङ गण्डकी प्रदेशको महाधिवेशनमा आफ्नो पक्षको नेतालाई अध्यक्ष बनाउन कम्मर कसेर लागेका छन् ।

लुम्बिनीमा अध्यक्ष केपी शर्मा ओलीको नै साथ लिँदा समेत आफू पक्षीय नेतालाई जिताउन नसकेका पोखरेल गण्डकीमा पृथ्वी सुब्बा गुरुङको साइज घटाउन लागेपनि केही नचल्ने गुरुङ पक्षका एक नेताले टिप्पणी गरे । ‘उहाँ आफ्नै प्रदेशमा चाहेको नेतृत्व ल्याउन सक्नुभएन । गण्डकीमा आएर गुटबन्दी गर्नुको अर्थ छैन’ ति नेताको भनाई छ ।

महासचिव पोखरेलले उपमहासचिव गुरुङलाई कमजोर बनाउन उनकै जिल्लाका नेता मायानाथ अधिकारीलाई अध्यक्षमा अगाडि सारेका छन् भने यसअघि गुरुङ खेमामा रहेका युवा नेता रश्मि आचार्यलाई सचिवमा अगाडि सारेका छन् । केन्द्रीय सदस्य राजीव पहारी पोखरेलको पक्षमा खुलेरै लागिसकेका छन् ।

यता गोविन्दबहादुर नेपालीसहितका नेतालाई पनि आफूनिकट बनाएको दाबी महासचिव पोखरेल निकटहरुको छ । यद्यपी स्वयम नेपाली भने गुटबन्दीमा आफ्नो रुची नरहेको र अहिलेपनि सर्वसम्मतीका लागि कम्मर कसेर लागेको बताउँछन् । ‘आफ्नो अनुकुल कसले के भन्छ, त्यो थाहा भएन म अहिलेपनि सर्वसम्मत नेतृत्व चयनका लागि कस्सिएर लागेको छु । मलाई यो वा त्यो समूहको भनेर जोड्न जरुरी छैन’ उनले भने ।

महासचिव पोखरेलले केन्द्रीय सचिव पद्मा अर्याल तथा अर्का स्थायी समिति सदस्य एवं गण्डकीका वरिष्ठ नेता किरण गुरुङको पनि साथ खोजिरहेका छन् । त्यसका लागि उनले गरेको प्रयासले सार्थकता पाउन सकेको छैन ।  उपमहासचिव गुरुङ निकट स्रोतका अनुसार पद्मा अर्याल र किरण गुरुङ कुनै समूह तर्फपनि खुलेका छैनन् । तर, साथ भने उपमहासचिव गुरुङलाई नै दिने गुरुङ पक्षीय नेताको दाबी छ । गण्डकीमा किरण गुरुङ र पद्मा अर्यालको पक्षमा लाग्ने नेता कार्यकर्ताको पंक्ति ठूलो छ ।

बागमती, लुम्बिनी, कोशी र कर्णालीमा अधिवेशन सम्पन्न भइसकेका छन् । लुम्बिनी र कर्णालीमा महासचिव पोखरेलले आफू अनुकुलको नतृत्व ल्याउन सकेनन् भने, बागमती र कोशीमा भने अनुकुलको नेतृत्व ल्याएको बताइन्छ । गण्डकीमा पनि आफू अनुकुलको नेतृत्व ल्याउन उनले सम्पूर्ण शक्ति लगाएका छन् ।

स्थायी समिति सदस्य खगराज अधिकारीको समेत राम्रो प्रभाव रहेको गण्डकीमा खगराजको चाहना बमोजिमको महासचिव पोखरेलको साथ रहेको मायाँनाथ अधिकारी समूह वा उपमहासचिव पृथ्वी सुब्बा गुरुङले चाहेको नवराज शर्मा समूह कसले जित हाँसिल गर्छ, त्यो भने प्रतिनिधिको मतबाट नै निर्केयोल हुनेछ ।

सचिव पद्मा अर्यालले छोडिन् पोखरा

गण्डकी प्रदेश अधिवेशनमा महासचिव शंकर पोखरेल र उपमहासचिव पृथ्वी सुब्बा गुरुङ आफू अनुकुलको नेतृत्वलाई जिताउन लागि परेका बेला सचिव पद्मा अर्याल भने आफू गुटबन्दीमा रमाउनु छैन भन्दै पोखरा छाडेकी छन् ।

मंगलबार नै पोखरा छोड्न खोजेको भएपनि मौसम प्रतिकुलताका कारण छोड्न नपाएको र आज (बुधबार) विहानै आफूले पोखरा छोडेको उनले केन्द्र खबरलाई जानकारी दिइन् । उनले आफ्नो सबैप्रति सद्भाव रहेको भन्दै पार्टीले खटाएको कर्म क्षेत्र तर्फ लागेको बताइन् ।

सर्बसम्मत रुपमा नेतृत्व चयन भएको भए राम्रो सन्देश जानेथियो भन्दै उनले विवेकी नेता कार्यकर्ता रहेको एमालेमा यो वा त्यो भनेर लविङनै गर्न नपर्ने तर्क गरिन् । आफू पूर्ववत मान्यतामै अडिग रहेको र एमालेको सचिव भएकाले सबैको अपनत्व लिएर अगाडि बढ्ने उनको प्रतिक्रिया छ ।

 

 

 

  • १७ आश्विन २०८०, बुधबार १०:१२ प्रकाशित