हुलाक मार्फत गाँजा ओसारपसार !

गाँजालाई पार्सलको रुपमा बुझ्न आउने पोखरासहित पाँच ठाउँबाट पाँच जना पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

बेलायतबाट हुलाकमार्फत पठाइएको गाँजासहित प्रहरीले पोखरासहित देशका विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरेको छ । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै पोखरा ल्याइएको पार्सलमा गाँजा फेला परेको इलका प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव निरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार यसरी ल्याइएइको ७२० ग्राम तयारी गाँजासहित यही २७ भदौमा पोखरा १८ को सेदीबाट २४ वर्षीय भारतीय नागरिक अजिन भर्गेस पक्राउ परेका छन् ।

उनलाई कास्की जिल्ला अदालतबाट लागू औषध मुद्दामा १० दिन म्याद थप भई अनुसन्धान भइरहेको डीएसपी जोशीले जानकारी दिए । पक्राउ परेका एक थान तराजु र प्याकिङ गर्ने प्लाष्टिक समेत भेटिएकाले लागु औषध कारोबारकै उद्योग चलाएको हुनसक्ने आसंका गरिएको जोशीले जानकारी दिए ।

नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोबाट आफूहरुलाई प्राप्त सूचनाका आधारमा आफूहरुले खोजतलास गर्दा ति व्यक्ति गाँजासहित पक्राउ परेका बैदाम प्रहरी प्रमुख जोशीले बताए । उनका अनुसार यसरी नै वीरगञ्जमा ९०० ग्राम गाँजासहित लिन आउने दुईजना र डडेल्धुरा बाट ७२० ग्राम गाँजासहित एकजना पक्राउ परेका छन् । ९३९ ग्राम गाँजासहित थप दुईजना पनि पक्राउ परेका डिएसपी जोशीले बताए ।

पोखरामा पक्राउ परेका भर्गेससहित अन्य स्थलमा पक्राउ परेका सबैलाई केन्द्रीय लागुऔषध व्युरोले नै थप कारबाही प्रक्रिया अगाडि बढाउने समेत उनले जानकारी दिए । हुलाक प्रयोग गरेर गाँजा पठाइएको विषयमा राखिएको जिज्ञासामा उनले गाँजा कारोबारीहरुले भन्सारमा समेत डिटेक्टर मेसिनले समेत पत्ता नलगाउने गरेर गिफ्ट आइटम र सजावटका समानमा हालेर पठाउने गरेको पाइएको प्रतिक्रिया दिए ।

  • ३१ भाद्र २०८०, आईतवार १५:१८ प्रकाशित