प्रधानमन्त्रीको चीन भ्रमणमा पोखराका लागि एजेण्डा दिँदै व्यवसायी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्टिय उडान, कोरला नाका सञ्चालन, चीनको महावाणिज्य दुतावास पोखरामा राख्नुपर्ने र पोखरा चक्रपथ लगायत प्राथमिकतामा

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराका उद्योगी व्यवासायीले प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणमा पोखरा विमानस्थल र कोरला नाका सञ्चालनको विषयले प्राथमिकता पाउनुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीको अग्रसरतामा जम्मा भएको उद्योगी व्यवासायीले पोखरा विमानस्थलबाट शीघ्र अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाउनुपर्ने बताए ।

चीनका विभिन्न सहरहरुमा भएपनि पोखराबाट उडानका लागि जोड दिनुपर्ने उनीहरुको भनाई रहेको छ । साथै पोखरा विमानस्थलमा चीन सरकारले दिएको ऋणलाई अनुदानमा परिणत गर्नका लागि समेत प्रधानमन्त्री प्रचण्डले जोड दिनुपर्ने उनीहरुले धारणा राखे ।

अवधारणा राख्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पोखरा विमानस्थलको क्षमता थप विस्तार गर्न समेत चीन सरकारलाई अनुरोध गर्नुपर्ने बताए । उनले चीनसंग जोडिएको सबै नाका मध्ये कोरला नाका नै सबै दृष्टिकोणले उपयुक्त नाका भएकाले यसलाई छिट्टो खोल्ने वातावरण बनाउनुपर्ने बताए । कोरला नाका भारत र चीन दुबै राष्ट्रका लागि छोटो दूरी र ट्रान्जिट हुन सक्ने उनको भनाई थियो ।

कोरोला नाकामा सुक्का बन्दरगाह बनाउनका लागि समेत प्रयाप्त ठाउँ रहेको चर्चा गर्दै उनले चीनले सिगात्सेसम्म रेल ल्याइसकेकाले कोरला नाका जोड्न अब ६ सय किलोमिटर मात्र रहेको बताए । नेपालले पहल गर्दा चीनका लागि त्यो ठूलो कुरा नरहेको समेत उनको भनाई थियो । मुस्ताङको कागबेनी हुँदै उत्तरी डोल्पासम्म सडक पुगेकाले कर्णाली प्रदेशले पनि कोरला नाकाको उपयोग गर्न सक्ने उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य बाबुराम गिरी, पोखरा पर्यटन परिषद अध्यक्ष पोमनारायण श्रेष्ठ, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराई र युवा व्यवसायी विनोद श्रेष्ठ लगायत सहभागीले प्रधानमन्त्री प्रचण्डको भ्रमणमा पोखराको चक्रपथ निर्माणमा चीनको सहयोग, चिनियाँ पर्यटकका लागि भिषा फ्रि गर्नुपर्ने, पोखरामा चीनको महावाणिज्य दूतावास राख्नका लागि पहल गर्नुपर्ने र पोखरामा चिनियाँ एसेम्बली उद्योग स्थापना गर्नुपर्ने लगायतका विषय उठाउनुपर्ने सुझाव दिएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष मुल्मीले यही १५ भदौमा प्रधानमन्त्री प्रचण्ड पोखरा आउने र आफूहरुले भेट्ने कार्यक्रम रहेकाले प्रधानमन्त्रीको चीन भ्रमणमा पोखराका लागि के कस्ता एजेण्डा दिने भनेर छलफल गरेको बताए । प्राप्त सुझावलाई मध्येनजर गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइने उनको भनाई थियो ।

  • ११ भाद्र २०८०, सोमबार १७:४८ प्रकाशित