गरिबका पीडा : सार्वजनिक शौचालयमा काजकिरिया

प्रकाश डोटेल

वालिङ ।

पर्वतको दक्षिण भेगको हुवास नजिकै केमुनेबाट स्याङ्जाको वालिङ आउँदा हुमबहादुर (पेमे) नेपालीको भर्खर विवाह भएको थियो । २०१० सालमा केमुनेमा जन्मेका पेमेको आर्थिक अवस्था धेरै नाजुक भएपछि कामको खोजीमा वालिङ आएका थिए ।

मजदुरी गरेर मात्रै शहर बजारमा पारिवारको जिविकोपार्जन गर्न निक्कै समस्या भएपछि उनले गाउँगाउँमा उत्पादन भएका स्थानीय उत्पादनका वस्तुलाई खरिद गरी बजारमा बेच्न शुरु गरे ।

४२ बर्षदेखि सुपोमा स्थानीय उत्पादन राखेर बेच्न शुरु गरेका पेमेलाई बजारका सबैले राम्रोसँग चिन्थे । पेमेले बिक्रीका लागि राखेको सामग्री किनेर चिनेकाले सघाउँथे । वालिङस्थित मोडमा अदुवा, बेसार, खुर्सानी, अमिलो, कागती जस्ता स्थानीय उत्पादनलाई बेच्ने र संकलित रकमबाटै परिवार चलाउने उनको दिनचर्या जेनतेन चल्दै आएको थियो ।

वालिङको मुख्य चोक सडक छेउमा आफ्नो जिन्दगीको उर्जाशिल ४२ बर्ष खर्चेका नेपाली गत हप्ता सधैंका लागि अस्ताउन पुगे । अदुवा, बेसार, खुर्सानी बेचेर साँझ अबेर अस्थायी बासस्थान गर्ने घर फर्कोका पेमे अर्को दिन फेरि वालिङ मोडमा नफर्कने गरी सधैंका लागि अस्ताए ।

जेनतेन परिवार चलाउदै आएका पेमेको मृत्युुपछि आर्थिक अवस्थाकै कारण उनका परिवारले वालिङ नगरपालिका वडा नं. ८ स्थित मालेबगर खेलमैदानको सार्वजनिक शौचालयमा काजकिरिया गर्दै आएका छन् ।

५ छोरा र २ छोरी जन्माएका नेपालीले श्रीमती पवि नेपालीकै सहयोगमा छोराछोरी हुर्काउने, बढाउने र दैनिक गर्जो टार्दै आएका थिए । श्रीमान्को किरिया बेसेकी पवि भन्छिन्, ‘स्थानीय राजेन्द्र गैरेको सहयोगमा अस्थायी रुपमा बस्दै आएको वालिङ मोड माथि एउटा छाप्रो समेत एक सहकारी संस्थाले भवन बनाउदा भत्कायो ।’ “छाप्रो भत्काएपछि न बास रह्यो न त किरिया बस्ने घर नै ।’ उनले भनिन्, “किरिया गर्ने ठाउँ नभएपछि सार्वजनिक शौचालयको सहारा लिनु परेको छ ।’

१२ जनाको परिवार लामो समयदेखि खेलमैदान छेउमा आश्रय लिएर बसेको पविको भनाई छ । पेमेकी कान्छी छोरी शान्ता नेपाली फुटबल खेलाडी समेत हुन् । उनले राष्ट्रिय फुटबल टिमबाट बङ्लादेशमा समेत सहभागी भईसकेकी थिईन् । आमा पविसँगै छोरी शान्ता पनि सार्वजनिक शौचालयमा बुवाको किरिया छिन् ।

घरको पिल्लर रुपी श्रीमान्को नै निधन भयो, अब झन बेसहारा भएका छौं । श्रीमान् गुमाउनुको पिडासँगै अब परिवार कसरी पाल्ने भन्ने चिन्ताले पविलाई थप पिरोलेको छ । कमाई गर्न सक्ने छोराछोरी ज्यालामजदुरी गरेर आ–आफ्नो परिवार पाल्न बाध्य छन् । तर बोल्न नसक्ने सहित १२ जनाको जिम्मेवारी पविको काँधमा आएको छ ।

हिन्दू परम्परा अनुसार १३ दिन नै किरिया गर्ने भन्दै पविले काज किरिया खर्चको जोहो गरिदिन सबैमा आग्रह गरेकी छन् । सार्वजनिक शौचालयमा नेपाली परिवार किरिया बसेको जानकारी पाएपछि स्थानीय सामाजिक संघसंस्थाहरुले सहयोग पनि गरेका छन् ।

बोलबम समिति वालिङले थोरै भएपनि खाद्यान्न सहयोग गरेको छ । समितिले गरेको सहयोग खाद्यान्नले केही राहत पुगेको नेपाली परिवारले जनाएको छ । बोलबम समितिका प्रवक्ता युवराज गौतमले अस्तव्यस्त अवस्थाको शौचालयमा किरिया गरेको जानकारी पाएपछि सहयोग गरेको सुनाए ।

  • ९ भाद्र २०८०, शनिबार १७:३४ प्रकाशित