विकासका काममा राजनीति नगरौं : प्रधानमन्त्री प्रचण्ड

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह गरेका छन् ।

प्रचण्डले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिनका लागि विकासका काममा राजनीति गर्न नहुने बताएका हुन् । उनले नेपाली जनताको हित र विकास निर्माणका काममा सबै इमानदार भएर एकजुट हुन जरूरी भएको बताएका हुन् ।

आज काठमाडौँको प्रज्ञा भवन कमलादीमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त कुरा बताएका छन् ।

सो अवसरमा प्रधानमन्त्रीले सरकारले उपयुक्त नीति र कार्ययोजनासहित आन्तरिक विद्युत माग वृद्धि गर्न विद्युतीय सवारी साधनहरू, विद्युतीय चुल्हो आदिको प्रयोगमा प्रोत्साहन गरेको तथा बढी विद्युत खपत गर्ने उद्योग कलकारखानाको स्थापना र सञ्चालनमा उपयुक्त वातावरण निर्माण गर्न र विद्युतको अधिकतम उपयोगलाई राष्ट्रिय अर्थतन्त्र र समृद्धिको मजबुत आधारका रूपमा आत्मसात गरी अघि बढ्न सम्बन्धित सबै मन्त्रालय र निकायहरूको आपसी समन्वयमा जोड दिएको औंल्याए ।

उनले खोला नाला बगिरहने तर त्यसबाट प्रचुर फाइदा लिन नसक्ने बिडम्वनापूर्ण अवस्थाको अन्त्य गर्न योजनावद्ध रूपमा काम गरिरहेको जनाउँदै अहिले देशभरका खोलानाला तथा नदीहरूमा जलविद्युत आयोजनाहरूको विकासका लागि केही न केही काम भइरहेको बताए ।

  • १ भाद्र २०८०, शुक्रबार १४:३० प्रकाशित