बतास फाउण्डेसनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अझै हस्तान्तरण गरेन अक्सिजन प्लाण्ट

८ महिना देखि निर्माणाधिन भवनमै थन्कियो प्लाण्ट, भवन निर्माणको ठेक्का प्रक्रियामा रहेकाले हटाउनुपर्ने

गोविन्द सुवेदी

बतास फाउण्डेसनले अस्पतालमा बेवारिसे अवस्थामा राखेको अक्सिजन प्लाण्ट । तस्बिर : केन्द्रखबर

पोखरा ।
बतास अर्गनाइजेशन अन्तर्गतको बतास फाउण्डेसनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपलब्ध गराएको भनिएको अक्सिजन प्लाण्ट अहिलेसम्म हस्तान्तरण नगरेको पाइएको छ । प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले उक्त प्लाण्ट आवश्यक नरहेको जानकारी गराउँदा गराउँदै पनि ल्याएर राखिएको तर, प्रतिष्ठानलाई हस्तान्तरण नभएको बताए ।  बतास फाउण्डेसनले पोहोर २१ मंसिर २०७९ मा उक्त ल्याएर अस्पतालमा राखेको हो । ८ महिना वितिसक्दा समेत त्यसको जडान भएको छैन । जडान गर्न आवश्यक पनि नरहेको निर्देशक डा. खत्रीले जानकारी दिए ।

आवश्यकता हुँदा नपाएको र चहिँदैन भन्दा भन्दै ल्याइएकाले त्यसप्रति त्यति चासो नरहेको उनको भनाई छ । ‘समयमा पाएनौं । त्यसपछि हामीले आवश्यकता छैन, अन्यत्र लैजानुस् भन्दाभन्दै ल्याउनुभयो । ल्याएपछि हामीले ठाउँ उपलब्ध गरायौं । ठाउँ ओगट्ने बाहेक अरु काम भएको छैन । उहाँहरुपनि पछिल्लो समय सम्पर्कमा हुनुहुन्न’ उनले भने ।

अस्पतालमा तीन वटा अक्सिजन प्लाण्ट रहेका र त्यसको समेत पूर्णरुपमा उपयोग हुन सकेको छैन भन्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले अन्यत्र लैजान आग्रह गर्दागर्दै बतासले पोहोर २१ मंसिर २०७९ मा बतास फउडेसनले उक्त प्लाण्ट राखेको हो । उक्त प्लाण्ट राखिएकै ठाउँमा अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप भवनका लागि टेण्डर आह्वान गर्न लागेको निर्देशक डा. खत्रीले केन्द्र खबरलाई जानकारी दिए ।

उनका अनुसार बतास फाउण्डेसनले अस्पताललाई दिएको प्लाण्टले १० वर्ग मिटर जमिन ओगटेको छ । यसलाई जोडेर सञ्चालनमा ल्याउने हो भने २०० वर्ग किलोमिटर जमिन त्यसका लागि चाहिने उनले बताए । तर, अब भवन बनाउनका लागि नै ठेक्का प्रक्रिया अगाडि बढाउन लागिएकाले अहिले उपलब्ध भएको जमिन पनि उपलब्ध नहुने उनले जानकारी दिएका छन् ।

निर्देशक डा. खत्रीका अनुसार अहिले जडान भइरहेका प्लाण्टहरुलाई नविग्रियोस भनेर आलोपालो चलाइने गरेको छ । भएकै प्लाण्टबाट दैनिक ४०० सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने उनले जानकारी दिए । अस्पतालले १०० सिलिण्डर भन्दा धेरै उपयोग नगर्ने र थप ३०० सिलिण्डर उत्पादन क्षमता भएका बेला अर्को आवश्यक छैन, हामीलाई चाहिँदैन अन्यत्र नै दिन आग्रह गर्दा अन्त मिल्दैन भनेर बतास फाउण्डेसनले जबरजस्ती उक्त प्लाण्ट अस्पतालमा लगेको थियो ।

बतास फाउण्डेसनले जोडिदिएको भएपनि त्यसको मर्मत संहार र सञ्चालनका लागि अस्पताललाई थप आर्थिक भार पर्ने डा. खत्री बताउँछन् । ‘चाहिँदैन भन्दाभन्दै प्लाण्ट ल्याउनुभयो । राख्ने ठाउँ दियौं । हामीले जोड्न सक्ने थिएनौं जोडेरै हस्तान्तरण गरिएको भए त्यसको नियमित मर्मतसंहार र सञ्चालनका लागि थप जनशक्ति चाहिने थियो । उक्त प्लाण्ट नजोड्दा हामीलाई मर्मतसंहार र सञ्चालन भार थपिएन’ उनले भने ।

अक्सिजन अभावका ति दिन र प्लान्ट बनाउने घोषणासहितको त्यो अभियान

विक्रम सम्बत १४ जेठ २०७८ को त्यो बिहान पोखरा र सिंगो देशकै लागि दुखद् समाचार पोखराबाट बाहिरियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजनको अभावले अस्पताल भर्ना भएका कोरोना संक्रमित बिरामीहरुको दूखद् निधनको खबर बाहिरिँदा नै बतास फाउण्डेसन बनाएर अक्सिजन प्लान्ट जोड्न भन्दै अभियान चलाईसकिएको थियो ।

प्राणबायुको रुपमा लिइने अक्सिजन प्लान्ट जोड्ने भनेपछि पोखराका प्रतिष्ठित उद्योगपति, उद्योगी, समाजसेवी मात्र होइन सर्वसाधारणले समेत उक्त अभियानलाई साथ दिएका थिए । तत्काल अक्सिजन प्लाण्ट जोड्ने बताएको बतास फाउण्डेसनले अहिले अस्पतालका लागि तीन वटा अक्सिजन प्लान्ट आएर चालुभइसकेपछि बल्ल अक्सिजन प्लाण्ट ल्याएको छ । कोरोना संक्रमणले तहसनहस पारेको बेला फ्रान्सबाट २५/२६ दिनमै अक्सिजन प्लान्ट ल्याउन सकिने बतास फाउडेनका अध्यक्ष आनन्द बतासले बताएका थिए ।

यसरी चलाइएको थियो अभियान 

पोखराको व्यासायीक समूह बतास अर्गनाइजेशनको आगुवाईमा यहाँका व्यवासायीहरुले पोखरा क्षेत्रीय अस्पतालमा अक्सिजन प्लाण्ट जोड्न भन्दै आर्थिक अभियान नै चलेको थियो । बतास फाउण्डेसन गठन गर्दै चलाइएको यो अभियानमा यहाँका प्रतिष्ठित व्यवसायीक घराना र सर्वसाधारण समेतले साथ दिएका थिए । यो अभियानबाट तीन करोड रुपैयाँ भन्दा धेरै रकम संकलन भइसकेको बतास अर्गनाइजेशनका अध्यक्ष आनन्द बतास स्वयमले सार्वजनिक गरेका थिए ।

अभियानमा आनन्द बतासले बतास फाउण्डेसन मार्फत २५ लाख र मातहतका विभिन्न कम्पनीमार्फत २५ लाख गरेर कुल ५० लाख रुपैयाँ सहयोगको घोषणा गरेका थिए । त्यस्तै, अटोवेज प्रालिका प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेल, सेलवेज डिपार्टमेन्टल स्टोर्सका सञ्चालक सुशील प्रधानाङ्ग, स्वर्गीय समाजसेवी सूर्यबहादुर केसीको स्मृतिमा केसी ग्रुप, सुपरमादी हाइड्रोपावरका अध्यक्ष पुष्पज्योति ढुंगाना, क्वालिटी एग्रिगेटका सञ्चालक देवबहादुर ज्वारचन र बिरिभर माइनिङ प्रालिले २५–२५ लाख रुपैया सहयोग घोषणा गरेका थिए । योसहित विभिन्न व्यवसायीक प्रतिष्ठान र व्यवासायीको तर्फबाट समेत गरी तीन करोड भन्दा धेरै रकम उठाइएको हो ।

‘रु १०० दान गरौं, महामारीमा प्राण राखौं’ भन्ने नाराका साथ आर्थिक संकलन महाअभियान नाम नै दिएर विभिन्न संघसंस्था र व्यक्तिबाट पैसा संकलन गरिएको थियो । प्लाण्ट स्थापनाका लागि ग्लोबल आइएमई बैंकको खाता नम्बर ६५०१००००४७७ मा रु १०० देखि आफूले चाहेजति पैसा जम्मा गर्न सकिने भन्दै आह्वान नै गरिएको थियो । उक्त अभियानलाई पोखराका केही प्रतिष्ठित सञ्चार माध्यम र पत्रकारले समेत साथ दिएका थिए ।

 

 

  • ३१ श्रावण २०८०, बुधबार १५:१२ प्रकाशित