तस्करीको सुनको तौल गालेपछि फेरि घटेको छ । राष्ट्र बैङ्कले केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतहरूलाई रोहबरमा राखेर मंगलबार सुनको वास्तविक तौल सार्वजनिक गरेको हो ।जसअनुसार सुनको वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको हो ।
साउन ३ मा राजस्वले सुन बरामद गरेर गाल्न र तौल लिने प्रयोजनका लागि राष्ट्र बैंकको टक्सार महाशाखालाई जिम्मा लगाएको थियो ।टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यका अनुसार सोमबार ब्रेक प्याडबाट अलग गर्दा सुनको तौल ६० किलो ७८९ ग्राम भएको थियो ।
सोमबारदेखि राष्ट्र बैंकले सुन ब्रेक प्याडबाट अलग गर्ने र गाल्ने प्रक्रिया सुरु गरेको थियो ।
असार ३० मा हङकङकबाट क्याथे प्यासिफिकको उडानमार्फत आएको सुन ‘रेडी ट्रेड प्रालि’ले मगाएको खुलेको थियो । १६० वटा ‘ब्रेक प्याड’ मा छिपाएर सुन काठमाडौँ ल्याइएको थियो । सुन सहितको ब्रेक प्याडको तौल १५५ किलो थियो ।
सुनको गुणस्तर कति हो भन्नेबारे ३ देखि ७ दिनसम्ममा पत्ता लाग्ने बताइएको छ ।
सुन तस्करीमा संलग्न आशङ्कामा हाल १७ जना हिरासतमा छन् । केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’ले सङ्गठित तस्करी विरुद्धको कसुरमा आरोपितहरू विरुद्ध अनुसन्धान गरिरहेको छ ।















