मुस्ताङको वारागुङ क्षेत्रमा बाढी : १५ घर, प्रहरी चौकी र पुल बगायो

केन्द्रभाग मिडिया

Photo : onlinekhabar

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा बाढी आएको छ । बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए ।

आइतबार राति करिब आठ बजे कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएको हो । मानवीय क्षति भने भएको छैन ।

प्रमुख जिल्ला अधिकारी केसीको अनुसार ‘१५–१६ घर बगेका छन् । कागबेनी प्रहरी चौकी, कागबेनी र छुसाङ जोड्ने पक्की पुल र केही गाडीहरु पनि बगेका छन् । कागबेनी र छुसाङ जोड्ने पक्की पुल बगाएपछि कागबेनीसँग अपर मुस्ताङको सडक सम्पर्क टुटेको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।

बाढी बस्तीमा पस्न थालेपछि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका टोलीको सहयोगमा स्थानीयलाई सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति हुन नपाएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिएका छन् । अहिले पनि नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, जनप्रतिनिधि र कर्मचारीहरुको टोली कागबेनी क्षेत्रमा परिचालित छ ।

बिजुलीका पोलसमेत बगाएको छ । विद्युत सेवा अवरुद्ध छ ।

  • २९ श्रावण २०८०, सोमबार ०९:३० प्रकाशित