सुन तस्करी प्रकरण

ओलीले उच्चस्तरीय स्वतन्त्र र निश्पक्ष छानबिनको मागलाई दोहोर्याए

छानबिन समितिमा हामीले एमालेका मान्छे राख्ने भनेको हो र ?

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् । आज एमाले मुख्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो माग गरेका हुन् ।

उनले भने–‘छानबिन समिति भनेको एमालेले आफ्ना मान्छे राखेर भनेको हो र ? हामीले त न्यायिक छानबिन भनेको हो । एसपीको नेतृत्वमा अनुसन्धान गरेपछि एसएसपीले निर्देशन दिएपछि एसपीले आदेश पालना गर्नुपर्छ । देश यति गम्भीर अवस्थामा पुगेको छ । त्यसैले गम्भीर हुनुपर्छ ।’

उनले अहिले ‘गोल्डेन–टच’ भैरहेको प्रसंँग सुनाए । उनले भने,‘जे आएपनि सुन, आईफोन पनि सुन । ब्रेक–सु सुन । भन्सारबाट त अहिले जे आएपनि सुन । हामी सबै गम्भीर हुनुपर्छ । यो देश रित्याउने मामिला हो । यसबाट हामीले देशलाई बचाउनैपर्छ । त्यसकारण यो पक्ष वा त्यो पक्ष नभनौं ।’

उनले सुन तस्करी प्रकरणमा निश्पक्ष छानबिनको मागलाई दोहोर्याए । उनले भने,‘टप्पो टुप्पोमात्रै हेरेर हुँदैन, जरोसम्मै पुग्नुपर्छ । अहिले हेर्नुहोस त एक जना नेताले २३४ पटक कुनै गिरोहसँग लगातार सम्वाद गरेको कुरा बाहिर आएको छ ।’

अध्यक्ष ओलीले सम्बोधन गर्नुअघि पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रेस वक्तव्य वाचन गरेका थिए । सो क्रममा उनले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको र यही सरकार रहे मुलुक असफल राष्ट्र बन्ने दाबी गरेका थिए ।

  • २८ श्रावण २०८०, आईतवार १४:१४ प्रकाशित