सीआइबीको मिसन ‘फोक्सट्रोट चार्ली’

सांसद सुनीलकुमार शर्मासहित पक्राउ पर्नेको संख्या ६ पुग्यो

धापासीस्थित इशान हस्पिटलकी डा. श्रद्धा सिल्पकार पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध अपरेसन सञ्चालन गरेर सीआइबीले कांग्रेस सांसद सुनीलकुमार सर्मासहित अहिलेसम्म ६ जना चिकित्सकलाई पक्राउ गरेको छ । धापासीस्थित इशान हस्पिटलकी डा. श्रद्धा सिल्पकार पक्राउ परेसंगै पक्राउ पर्नेको संख्या ६ पुगेको हो ।

पक्राउ पर्नेमा मोरङ–३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनीलकुमार शर्मा, महोत्तरीको पिपरा–८ घर भएका रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा.अमित चौधरी, डा. रामबाबु यादव र डा. एरिना शाह छन् ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने विरुद्ध सञ्चालन गरिएको अपरेशनको नाम ‘फोक्सट्रोट चार्ली’ राखिएको छ । अपरेशनको कमान्ड डिएसपी डा. तपन दाहालले गरेका छन् । विगतमा ब्युरोले नै सञ्चालन गरेको नक्कली चिकित्सक विरुद्धको अपरेसन ‘क्वाक’कै निरन्तरतामा नक्कली सर्टिफिकेटविरुद्ध कारबाही सञ्चालन गरिएको सीआइबीले जनाएको छ ।

नियन्त्रणमा लिइएका सांसद सुनील कुमार शर्मा र पछिल्लो समय पक्राउ परेकी डा. श्रद्धा सिल्पकारसहित ६ जनालाई नै लिखत सम्बन्धी कसुर र ठगी मुद्दामा अनुसन्धान गर्ने ब्युरोको तयारी छ । २०७८ मा पनि ब्युरोले ७ जना नक्कली चिकित्सकलाई पक्राउ गरेर ‘लिखत सम्बन्धी कसुर’ मा मुद्दा चलाएको थियो ।

  • २६ श्रावण २०८०, शुक्रबार ०८:३४ प्रकाशित