प्रधानमन्त्रीले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

केन्द्रभाग मिडिया

काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम कार्यान्वयनका लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता हस्ताक्षर गरेका हुन् । अब सरकारले कार्यसम्पादन मूल्यांकनको आधारमा मन्त्रीहरुको कामको मासिक रिपोर्ट कार्ड पनि बनाउने भएको छ ।

संघीय सरकारका २१ जना मन्त्रीले आफूले नेतृत्व गरेको मन्त्रालयले गर्ने कामको कार्यसूचीसहित प्रधानमन्त्रीसँग सम्झौता गरेका छन् । सम्झौतापत्रमा हासिल गर्नुपर्ने नतिजा सूचक राखिएको छ, जसमा आर्थिक वर्ष २०७९/०८० को समग्र स्थिति र आर्थिक वर्ष २०८०/०८१ को लक्ष्य निर्धारण गरिएको छ ।

सम्झौतापत्रमा गर्नुपर्ने प्रमुख कामहरु उल्लेख छ, जसमा कार्यक्रम र क्रियाकलापको सूची र सो जिम्मेवारी पूरा गर्नुपर्ने समयसीमा उल्लेख छ ।

प्रधानमन्त्रीले सबै मन्त्रालयका मन्त्री र सचिवहरूसँग अघिल्लो वर्षको प्रगति विवरण पनि बुझेका छन् ।

उक्त कार्यक्रममा आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा गरिएको छ। त्यसपछि मन्त्रीहरुसँग आ।व। २०८०/८१ का लागि कार्यसम्पादन सम्झौता भएको हो ।

कार्यसम्पादन सम्झौतामा मन्त्रीहरुले आगामी १ वर्षभित्र आफ्नो मन्त्रालयबाट गर्ने कामको विवरण प्रधानमन्त्रीकहाँ पेस गरेका छन् ।

  • २५ श्रावण २०८०, बिहीबार १६:३७ प्रकाशित