आफ्नै छोरीलाई जबरजस्ती विष खुवाउने बुबा पक्राउ, छोरी सिकिस्त

केन्द्रभाग मिडिया

विराटनगर ।

सुनसरीमा आफ्नै छोरीलाई जबरजस्ती विष खुवाउने बुबा पक्राउ परेका छन् । बर्जू गाउँपालिका वडा नम्बर २ रामगञ्ज बेलगाछियाका अर्जुन कामतले छोरी राधिकालाई विष खुवाएका हुन्।

मादक पदार्थ सेवन गरी २० वर्षीया छोरी राधिकालाई जबरजस्ती विष खुवाएका उनलाई प्रहरीे पक्राउ गरेको छ । साउन २३ गते कामतले छोरी राधिकालाई घाँटी थिचेर विष खुवाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तरकारी बालीमा किरा मार्न ल्याएको विष बुबा अर्जुनले छोरीलाई जबरजस्ती खुवाएपछि राधिका छट्पटाउँदै सडकमा आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईको अनुसार सडकमा राधिकालाई छटपटाएको देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले राधिकालाई उपचारका लागि विराटनगर स्थित कोशी अस्पतालमा पुर्‍याएको छ ।राधिकाको कोशी अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको छ ।

  • २५ श्रावण २०८०, बिहीबार १०:०२ प्रकाशित