म्याग्दी ।
म्याग्दीमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन् । पश्चिम म्याग्दीका मालिका, मङ्गला र धौलागिरि गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा यतिबेला खनेको आलु थुपारिएको छ । बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी छ । अहिलेसम्म कतैबाट पनि आलुको माग नआएको किसानले बताएका छन् ।
जिल्लाका लेकाली क्षेत्रमा फलेका वर्षे स्वादिष्ट आलु बिक्री नहुँदा किसान मारमा परेका हुन् । यस ठाउँमा मकैपछिको दोस्रो प्रमुख बालीका रूपमा उत्पादन हुने आलुले बजार नपाउँदा आलु कुहिन्छ कि भन्ने पिरले आफूहरूलाई सताएको किसानहरुले बताएका छन् ।
म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज आलुको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा छ दशमलव ३६ प्रतिशतले आलुको उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । आलुको उत्पादन बढे पनि बिक्री हुन नसक्दा समस्या भएको किसानको गुनासो छ ।
विगतका वर्षहरुमा जिल्लामा उत्पादित आलुमध्ये ७० प्रतिशत अथवा एक हजार मेट्रिक टनभन्दा बढी आलु निकासी हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ । प्रतिकिलो रु ५० देखि रु एक सय सम्ममा कृषकले आलु बेच्ने गरेका थिए ।
जिल्लामा हाल स्थानीय सेतो, रातो जातको आलु, नीलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रघुगङ्गा–६, ७ र ८ र अन्नपूर्ण–५, ६, ७ र ८ नं वडामा गत आर्थिक वर्षदेखि व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र कार्यक्रम सञ्चालन गरेको छ ।
केन्द्रका बाली संरक्षण अधिकृत सञ्जीव बास्तोलाले यस वर्ष जिल्लाभर एक हजार छ सय ५० हेक्टर जमिनमा आलु खेती भएकामा २५ हजार चार सय १० मेट्रिक टन उत्पादन भएको जानकारी दिए ।