बेनी–जोमसोम सडक तीन दिनदेखि अवरुद्ध

केन्द्रभाग मिडिया

File photo

गलेश्वर ।

गत शनिबार रातिदेखि अवरुद्ध बेनी–जोमसोम सडक आज बिहानसम्म पनि नखुल्दा मुस्ताङ जाने र त्यहाँबाट फर्कने पर्यटक तथा यात्रु अलपत्र परेका छन् ।

रघुगङ्गा गाउँपालिका–१ र २ को सिमानाबाट झरेको पहिरोले रघुगङ्गा–३ बैसरीमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरोले सडक अवरुद्ध भएपछि मुस्ताङ भ्रमणमा आएका भारतीय, तेस्रो मुलुकका पर्यटकलगायत यात्रु बीच बाटोमा नै अलपत्र परेका छन् ।

स्थानीयले दिएको जानकारीअनुसार भारत र तेस्रो मुलुकबाट आएका ५६ पर्यटक बेनी फर्कने वा पहिरो पार गरेर मुस्ताङ जाने भन्ने अन्योलमा छन् ।

शनिबारदेखिको अविरल वर्षाले सडकको सिरानबाट आएको पहिरोका कारण बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको बैसरीमा सडक अवरुद्ध भएको हो । वर्षाले गर्दा नियमित रुपमा पहिरो झरेका कारणले सोझो यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने र मुस्ताङबाट फर्कने पर्यटक, तीर्थयात्री तथा सवारी साधनलाई समस्या भएको हो ।

बैसरीमा दैनिकजसो खस्ने पहिरोले बेनी–जोमसोम सडकको यातायात सेवा प्रभावित हुने गरेको छ । सडक माथिबाट खस्ने पहिरो निरन्तर खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुने गरेको हो ।

  • २४ श्रावण २०८०, बुधबार १५:२५ प्रकाशित