वडा समितिका उम्मेदवार संकलन गर्ने रास्वपाको तयारी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौमा वडा समितिका उम्मेदवार संकलन गर्ने भएको छ । संगठन निर्माण र विस्तारमा जुटेको रास्वपाले अनलाइनमार्फत भदौमा वडा समितिका उम्मेदवार संकलन गर्न लागेको हो ।

रास्वपाका सहमहामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले भने, ‘भदौदेखि वडा समितिको उम्मेदवार अनलाइनबाट संकलन गर्ने तयारी भइरहेको छ । भदौ महिनाभरी हामीले उम्मेदवारी लिन्छौं ।’ उनका अनुसार उम्मेदवारी संकलन भइसकेपछि असोजमा दाबी–विरोधको प्रक्रिया सुरु हुने छ ।

त्यसपछि अनलाइन भोटिङमार्फत वडा समिति गठन हुने उनको भनाइ छ । रास्वपाको वडा समितिमा वडाध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यहरु रहने व्यवस्था छ । ११ सदस्यीय वडासमितिमा ४ जना महिला अनिवार्य हुनुपर्ने छ भने त्यसमध्ये एकजना दलित महिला सदस्य पनि रास्वपाले अनिवार्य गरेको छ ।

रास्वपाले डिजिटल युगको प्रारम्भ वडा कमिटीबाटै गर्न लागेको बुर्लाकोटीको भनाइ छ ।

  • १८ श्रावण २०८०, बिहीबार १४:५७ प्रकाशित