एमाले गण्डकी प्रदेश कमिटीको अन्तरक्रिया बैठक सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीले कास्की जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सचिवालय सदस्य तथा सदस्यहरूसंग अन्तरक्रिया बैठक सम्पन्न गरेको छ।

बैठकमा एमालेका सचिव एवम् गण्डकी प्रदेश कमिटीका इन्चार्ज गोकर्ण बिष्टले नयाँ चुनौती र जिम्मेवारीलाई सामना गर्न यथार्थमा मैदानमा उत्रनु पर्ने भन्दै परिणाम निस्कने गरि पार्टीको काममा लाग्न सबै प्रदेश कमिटीका सदस्यहरूलाइ आग्रह गरे।

पूर्वमन्त्री समेत रहेका सचिव विष्टले एमाले सरकारका योजना र प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूले गरेका कामको प्रभावकारी प्रचार र सबै नेता कार्यकर्ताहरूको अनुशासित र इमान्दार व्यवहार अति आवश्यक भएको उल्लेख गरे।

संगठनात्मक अराजकता र स्वेच्छाचारीताले पार्टी सबल हुन नसक्ने जिकिर गर्दै बिष्टले नेतृत्व देखि कार्यकर्ता सम्म त्यसको अन्त्य अबको पहिलो शर्त हुने बताए।

अवसरका लागि मात्रै पार्टी खोज्ने प्रवृत्ति घातक भएको हुँदा निहित व्यक्तिगत स्वार्थ केन्द्रीत हुने गरि काम नगरी देश र जनताको हितमा मात्रै केन्द्रित हुन आफ्नो पार्टीका निर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गरे।

उनले पार्टी प्रणालीमा चल्ने हुदा विधि र प्रक्रियाबाटै अनुशासन स्थापित गर्ने उद्घोष गरे।कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले अब नेतृत्व होस वा कार्यकर्ता सच्चिनुको विकल्प नभएको उल्लेख गरे।


अधिकारीले काङ्ग्रेस र माओवादीले सिद्धान्त छोडेको र नयाँ उदाएको भनिएका पार्टीहरूको कुनै कार्यनीति र सिद्धान्त नभएको कुरा स्पष्ट जनतालाई बुझाउन आग्रह गरे। उनले पार्टीका विरूद्ध भएका अनर्गल प्रचारलाई परास्त गर्न प्रतिवाद नै आवश्यक भएको जिकिर गर्दै एक मन एकताका साथ सो कार्यमा लाग्न आग्रह गरे।

पार्टी प्रदेश कमिटीका उप सचिव एवम प्रचार तथा प्रकाशन विभाग प्रमुख रश्मी आचार्यले कमिकमजोरीहरूबाट सिक्दै पार्टीको साख उचो गर्ने गरि अझै घनिभुत तबरले लागि पर्नुपर्ने उल्लेख गरिन् ।

उप सचिव आचार्यले पार्टी सबै प्रकारका क्षमताहरूको मिश्रण भएको हुदा सबै सदस्यको क्षमता र क्षेत्रको आधारमा जिम्मेवारी निर्धारण गरिने भन्दै कामले नै सबैको स्थान निर्धारण गर्ने हुँदा कार्यक्षेत्रमा सबल तरिकाले लागि पर्न आग्रह गरे।

कार्यक्रममा गण्डकी प्रदेश कमिटीमा कास्कीबाट प्रतिनिधित्व गर्ने सचिवालय सदस्य एवम सदस्यहरू पुण्य पौडेल ,आनन्द सुवेदी ,लक्ष्मी अधिकारी,भुपेन्द्र गिरि,कालिदाश सुवेदी ,पूर्ण गिरि,प्रभा कोइराला ,शोभा मोहन पौडेल ,चतुरे वि क, इश्वर आचार्य ,बिधा बिमल बराल ,पार्वती जि सि, भिम प्रसाद बास्तोला लगाएतले पार्टीको वर्तमान अवस्था र भावी कार्यदिशाका सन्दर्भमा आ–आफ्नो सुझाव प्रस्तुत गरेको सो पार्टीको गण्डकी प्रदेश कमिटी प्रचार विभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए।

  • ८ श्रावण २०८०, सोमबार १६:२० प्रकाशित