बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता : पम्फा भुसाल

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता भएको बताएकी छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गदै उनले यस्तो बताएकी हुन् । उनले एकीकृत हुनुपर्ने बेलामा कम्युनिष्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा रहेको बताइन् । अब फेरि बलियो कम्युनिष्ट पार्टी बनाउने कुराबाट पछि हट्न नहुने उनको भनाई थियो ।

उपाध्यक्ष भुसालले समाजावादी मोर्चा अहिले बनाइसकेको र आगामी दिनमा मोर्चाको सहकार्यबाट क्रमशः एकतामा पुर्‍याउने र बलियो कम्युनिष्ट पार्टी बनाउने बताइन् । । अहिले समाजवादी मोर्चामा नआएका भिन्न कम्युनिष्ट पार्टीका छातामा रहेकाहरुलाई पनि एउटैमा ल्याउने प्रयास जारी रहने जिकिर गरिन् ।

उनले भनिन् ‘‘अहिले एउटा बलियो कम्युनिष्ट पार्टी चाहिएको छ । तर बिडम्वना हाम्रो कम्युनिष्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा छ । त्यसलाई एकीकृत, केन्द्रिकृत गर्ने प्रयास भएका थिए, एउटै नेकपा पनि बनायौँ हामीले जनताको जनमत पनि इतिहास कायम गर्नेगरी प्राप्त गरेका थियौँ । तर एकता कामय भइरहन सकेनौँ । तर हामी अब फेरि बलियो कम्युनिष्ट पार्टी बनाउने कुराबाट पछि हट्न सक्दैनौँ । हामीले समाजावादी मोर्चा बनाएका छौं । मोर्चाको सहकार्यबाट क्रमशः एकतामा पुर्‍याउने हो । अहिले समाजवादी मोर्चामा नआएका भिन्न कम्युनिष्ट पार्टीका छातामा रहेकाहरुलाई पनि एउटैमा ल्याउने हाम्रो प्रयास हो ।’’

उपाध्यक्ष भुसालले वैचारिक राजनीतिक वहसले एकीकृत कम्युनिष्ट पार्टी बनाउने भूमिका निभाउने बताइन् । उनले कम्युनिष्टहरु एक ठाउँमा नउभिने भए नयाँ पुँजीवादीहरुको उदय हुने पनि दाबी गरिन् ।

  • ६ श्रावण २०८०, शनिबार १६:०४ प्रकाशित