‘पोखरामा मल्टिब्रान्ड शोरुम’ : २० ब्रान्डका हजार बढी मोडलका जुत्ताचप्पल एकै ठाउँमा पाइने

केन्द्रभाग मिडिया

पोखरामा

अन्तर्राष्ट्रिय गुणस्तरको जुत्ता, चप्पल उत्पादन गर्दै आएका नेपालका प्रचलित १० कम्पनीले संयुक्त रुपमा पोखरामा ‘मल्टिब्रान्ड शोरुम’ विस्तार गरेको छ ।

पोखरा महानगर ८ सिर्जनाचोकमा ‘पोखरा फुटवेयर बिजनेस सेन्टर’ नामबाट खुलेको साझा मल्टिब्रान्ड शोरुम आज शुक्रबारदेखि विधिवत् रुपमा सञ्चालनमा आएको हो ।

शोरुमको गण्डकी प्रदेश सरकारका कृषि तथा भुमि व्यवस्थापन मन्त्री महेन्द्र धोज जिसीले उद्घाटन गरेका थिए ।

उक्त शो रुममा प्रचलित १० कम्पनीका करिब २० ब्रान्डका हजार बढी मोडलका जुत्ताचप्पल उपलब्ध हुनेछन् । उपभोक्तालाई सिधैं उद्योगबाट उत्पादित जुत्ता चप्पल एकै ठाउँबाट सहजरुपमा उपलब्ध गराउने उद्देश्यले संयुक्त रुपमा ‘मल्टिब्रान्ड शोरुम’ सञ्चालनमा ल्याएको फुटवेयर विजनेस सेन्टरका उपाध्यक्ष सुरज बन्जाडेले बताए ।

संयुक्त शोरुममा शिखर, सु–ल्यान्ड, पिजी सुज, वन वल्र्ड, फुटस्टेप, बोस सुज, रन सुज, ब्याम्बो सुज, स्मार्ट सुज, हिमानी कलेक्सन कम्पनीका उत्पादनहरु पाइनेछन् ।

हाल नेपालमा वार्षिक ८ देखि १० करोड जोडीभन्दा बढी जुत्ताचप्पल खपत हुन्छन् ।आगामी दिनमा यस्ता शोरुमहरु देशव्यापी रुपमा विस्तार गर्ने र अझै परिष्कृत र वृहत तरिकाले उपभोक्तालाई उत्पादन उपलब्ध गराउने उपाध्यक्ष बन्जाडेले प्रतिवद्धता जनाए ।

  • ५ श्रावण २०८०, शुक्रबार १४:२३ प्रकाशित