१६५ क्षेत्रमै उम्मेदवारको तयारी गर्न कार्यकर्तालाई माधव नेपालको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा सम्पूर्ण ध्यान केन्द्रित गर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पार्टीको पहिलो केन्द्रीय परिषद बैठकको उद्घाटन गर्दै नेपालले आगामी चुनावमा अधिकतम सफलता हासिल गर्ने गरी तयारी गर्न निर्देशन दिएका छन् । उनले १६५ क्षेत्रमा नै उम्मेदवारको तयारी गर्न समेत आदेश दिएका छन् ।

नेपालले भने, ‘हामीले १६५ निर्वाचन क्षेत्रमा अहिलेदेखि नै उम्मेदवारको तयारी गर्नुपर्छ । कति ठाउँमा डम्मी उम्मेदवार पनि उठाउनुपर्ने हुन सक्छ । पालिका-पालिका, वडा वडामा कार्यकर्ता खटाउनुपर्छ । बुथ-बुथमा टोलटोलमा कमिटी बनाउनुपर्छ ।’

स्थानीय चुनावमा आफूहरूले २८ प्रतिशत मात्रै उम्मेदवार खडा गर्दा पनि ९ लाख मत प्राप्त गर्न सफल भएको अध्यक्ष नेपालले बताए ।उनले सबै ठाउँमा उम्मेदवार उठाएको भए २० लाख भोट सजिलै आउने दाबी गरे ।

उनले मंसिरमा चुनाव हुने सम्भावना रहेकाले अहिलेदेखि नै आआफ्नो कार्यक्षेत्रमा खटिन कार्यकर्तालाई निर्देशन दिए ।प्रत्येक कार्यकर्तालाई जनताको घर-घरमा गएर कलम चिन्हको प्रचार गर्न आग्रह गरे ।

  • १३ असार २०७९, सोमबार १४:४० प्रकाशित