नेपाल पञ्चशीलको सिद्धान्तलाई आत्मसात् गर्छ : मन्त्री कार्की

केन्द्रभाग मिडिया

पोखरा ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अन्तराष्ट्रिय जगतसंग सुसम्बन्ध कायम गर्दै अघि बढ्नुको विकल्प नभएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान–२०७८ वितरण समारोहमा बोल्दै मन्त्री कार्कीले बताउँदै साञ्चारमन्त्री कार्कीले नेपाल पञ्चशीलको सिद्धान्तलाई आत्मसात् गर्दै अन्य राष्ट्रसँग सम्बन्ध विस्तार गर्दै अघि बढ्ने बताए ।

अमेरिकन स्टेट पार्टनरशिप प्रोग्रामलाई अघि नबढाउने सरकारले निर्णय गरिसकेको कार्कीले जानकारी दिए । एक्लै हिँडेर कहीँ पुग्न नसकिने र सबैको सहयोगमा अघि बढेमा यो मुलुकको भविष्य सुन्दर रहेको उल्लेख गर्दै मन्त्री कार्कीले भाषणमा मात्र नभई व्यवहारमा आउने निर्वाचनबाट लोकतान्त्रिक स्थिरता दिन सकेको अवस्थामा १० वर्षमा नेपाल दक्षिण एसियाको धनी मुलुक बन्ने दाबी गरे ।

कुनै पनि पत्रकारले विचार व्यक्त गरेको आधारमा यो सरकारले दण्डित नगरेको र नगर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । दक्षिण एसियामा नै स्वतन्त्र प्रेसको नमूना देशका रूपमा नेपाललाई विकास गर्नका लागि सरकार कानुनी, संरचनागत व्यवस्था गर्न सधँै तयार रहेको मन्त्री कार्कीले बताउनुभयो ।

महँगी केवल सरकारको हातमा मात्र नरहेको र हाल पेट्रोलको मूल्य वृद्धि भएको बताउँदै उनले पेट्रोललाई विस्थापित गर्न भइरहेको ऊर्जाको विकासलाई व्यवस्थित गरिने उल्लेख गरृ । मन्त्री कार्कीले देशमा उत्पादित ऊर्जा खेर नजाने गरी यसको खपत बढाउनेतर्फ ध्यान दिइने बताए ।

शासन पद्धतिमा परिवर्तनसँगै जनताको जीवनस्तरमा पनि परिवर्तन आउनु जरुरी हुने बताउँदै उनलेआगामी दिनमा नेपालीलाई सम्पन्न बनाउनेतर्फ राज्यको जोड रहने स्पष्ट पारे ।

आगामी पुस्तालाई समृद्धपुस्ता बनाउने गरी लाग्नुपर्ने बताउँदै मन्त्री कार्कीले पूँजी निर्माणका लागि लगानीमैत्री वातावरण बनाउनुपर्ने आवश्यकता औल्याए । निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै अपार जलस्रोतको उपयोग गर्न सके मात्रै पनि त्यसले यहाँको समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने कार्कीले बताए ।

सो अवसरमा दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान–२०७८ बाट मन्त्री कार्कीले पत्रकार बबिता बस्नेतलाई सम्मानपत्रसहित रु एक लाख एक हजार १११ ले सम्मान प्रदान गरिएको थियो ।

  • ७ असार २०७९, मंगलवार १७:४४ प्रकाशित