बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः निर्वाचन गर्ने सहमति भएको छ । वैशाख ३० गतेको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले दुवै पक्षबाट धाँधली भएको भन्दै निर्वाचन आयोगले पालिकाभरिकै निर्वाचन बदर गरेको थियो ।
कांग्रेसद्वारा पुनः मतदान र एमालेद्वारा गणना हुनुपर्ने लामो समयको खिचातानीपछि जिल्ला तहका दुवै पक्षका नेताहरू बिहीबारको बैठकबाट पुनः निर्वाचन गराउन सहमत भएका हुन् ।
निर्वाचन आयोगले यसअघि नै बुढीगंगामा पुनः निर्वाचन गर्ने निर्णय गर्दै मिति तोक्ने अधिकार जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयलाई दिएको थियो ।
एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरू, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरूसहित बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले बुढीगंगामा पुनः निर्वाचन हुने मिति तोकेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । यसअघि निर्वाचनको मिति तोक्नका लागि बसेका चार वटा बैठकमा निष्कर्षविहीन भएका थिए ।
वैशाख ३० गतेको मतदानका क्रममा बुढीगंगाका १० वडामध्ये ६ वटा वडामा स्वतन्त्र र निष्पक्ष मतदान हुन सकेको थिएन ।
दुइवटा बुथमा कांग्रेसले धाँधली गरेको एमालेको आरोप थियो भने चार वटामा एमालेले धाँधली गरेको कांग्रेसको आरोप थियो । निर्वाचन आयोगले उक्त विषयमा स्थलगत अध्ययन गरेको थियो । अध्ययनपछि फेरि चुनाव गर्ने निर्णय लिएको थियो ।
नेपाली कांग्रेसबाट रंग खाती मेयर र रिता शाही उपमेयर छन् भने एमालेबाट रामबहादुर बानियाँ मेयर र माया खड्का उपमेयरका उम्मेदवार छन् ।














