एलपी ग्यासमा दुई थरी मूल्य तोक्ने तयारी, व्यापारिक प्रयोजनका लागि परल मूल्य

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा दुई थरी मूल्य लागू गर्ने तयारी गरेको छ । सर्वसाधारण व्यक्तिलाई राहत दिन दुई थरी मूल्य निर्धारण गर्न लागिएको हो ।

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले घरायसी प्रयोजनका लागि हालकै मूल्य र व्यापारिक प्रयोजनका लागि परल मूल्य लागू गर्न लागिएको जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका सर्वसाधारण व्यक्ति पहिचान गरेर राहत दिइने र व्यापारिक प्रयोजनका लागि खरिद मूल्यमै बिक्री गर्ने तयारी गरिएको थानीले बताए।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत एलपी ग्यासको उपभोगमा सर्वसाधारण जनताको घरायसी एवं व्यापारिक प्रयोगका लागि अलगअलग मूल्य कायम गर्ने घोषणा गरेको छ ।

यसअघि तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले ग्यासमा घरायसी प्रयोजनका लागि रातो र व्यापारिक प्रयोजनका लागि नीलो सिलिन्डर लागू गर्ने निर्णय गरे पनि यसको प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको थिएन ।

अध्ययन समिति गठन

निगमले फेरि दुई थरी मूल्य निर्धारण गर्न अध्ययन प्रक्रिया अगाडि बढाएको छ । यसका लागि अध्ययन समिति नै गठन भएको छ । दोहोरो मूल्य दुरुपयोग नहुने गरी आधुनिक प्रविधि प्रयोग गरेर सफ्टवेयर प्रणालीमार्फत लागू गर्न सकिने निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

यसअघि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेकाले पनि अब कार्यान्वयन हुनेगरी सरोकारवाला निकायसँग छलफल गरेर लक्षित वर्ग पहिचान गरेर ग्यासमा राहत दिनेगरी अध्ययन सुरु गरेको उनले बताए ।

आर्थिक अवस्था कमजोर भएका, विद्यार्थी वर्गलाई ग्यासमा मूल्य घटाएर दिन सकिने उनले जानकारी दिए। सबैलाई छुट आवश्यक नपर्ने र निम्न वर्गका व्यक्तिलाई पहिचान गरी सहुलियत डिलर तोकेर त्यसमार्फत राहत दिन सकिने भट्टराईले बताए । निगमका अनुसार ३० प्रतिशत व्यापारिक र ७० प्रतिशत घरायसी प्रयोजनमा ग्यासको खपत हुने गर्छ । घरायसी र व्यापारिक प्रयोजनका लागि हाल एउटै मूल्य कायम छ ।

नेपाल ग्यास बिक्रेता महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले ग्यासमा दोहोरो मूल्य कार्यान्वयन गर्न कठिन भएको बर्ता। घरायसी र व्यापारिक प्रयोगकर्ता छुट्याउन कठिन भएकाले दुई थरीको मूल्य कार्यान्वयन गर्न कठिन हुने उनले बताए ।

बजारमा मासिक ४५ लाख मेट्रिक टन अर्थात् एक लाख ३५ हजार सिलिन्डर ग्यास खपत हुने गर्छ । निगमलाई सबैभन्दा धेरै घाटा ग्यासमा रहेको छ ।

प्रतिसिलिन्डरमा ७५१ रुपियाँ घाटा छ । ग्यास प्रतिसिलिन्डरको खरिद मूल्य दुई हजार ५५१ रुपियाँ रहेको छ । बजार मूल्य एक हजार आठ सय रुपियाँ रहेको छ । मासिक घाटा एक अर्ब ४३ करोड २४ लाख रुपियाँ घाटा रहेको छ ।

ग्यासको मूल्य बढ्दै गए पनि सो अनुपातमा मूल्य समायोजन नहुँदा घाटा बढ्दै गएको निगमको भनाइ छ । चालू आर्थिक वर्षको वैशाख महिनासम्म चार लाख ७८ हजार मेट्रिक टन ग्यास आयात भएको छ ।

  • २१ जेष्ठ २०७९, शनिबार १५:०७ प्रकाशित