नेकपा एसले पोखरामा टाउको उठाउनु एमालेका लागि दुखद् : उपमहासचिव गुरुङ

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेकपा एकीकृत समाजवादीलाई देशभर धेरै ठाउँमा पराजित गरेर अस्तित्वको संकटमा पारेको दाबी  गरेका छन् । तर पोखरामा भने एकीकृत समाजवादीले टाउको उठाउने ठाउँ पाउनु दुखद् भएको उनले बताए ।

पोखरामा आफ्नो पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पोखरमा नेकपा एकीकृत समाजवादीले टाउको उठाउनु आफूहरुका लागि दुखद् रहेको समेत धारणा राखे । ‘एकीकृत समाजवादीलाई धेरै ठाउँमा पराजित गरेर उसको अस्तित्व संकटमा पारेका छौं । तर पोखरामा उसले शीर ठाडो पा¥यो’ उनले भने ‘यो हाम्रा लागि दुखद् विषय हो ।’

उनले सत्ता गठबन्धनले व्यापक रुपमा राज्य सत्ताको दुरुपयोग गरेका कारण एमालेको पराजय भएको बताए । ‘सत्ता गठबन्धनले व्यापक रुपमा राज्य सत्ताको दूरुपयोग ग¥यो ।

पैसाको खोलो बगायो । जसका कारण हामीले पराजय भोग्नु प¥यो’ उनले भने । उपमहासचिव गुरुङले निर्वाचनको मौन अवधी २७ र २८ गते कुना कुनामा लगेर गठबन्धनले पैसा बाँडेको उल्लेख गरे ।

गण्डकीका पूर्व मुख्यमन्त्री समेत रहेका उपमहासचिव गुरुङले अन्य प्रदेशमा एमाले पराजय भएपनि गण्डकीमा भने आफ्नो साख जोगाउन एमाले सफल भएको दाबी गरे ।

उलने अन्य ६ वटा प्रदेशमा भने एमालेले साख गिराएको बताए । उनले ‘अरु ६ वटा प्रदेशमा कतैपनि पुरानो विरासत कायम राख्न सकिएको छैन । तर हामीले गण्डकीमा पुरानो विरासत कायम राख्न सकेका छौं’ भनेका छन् ।

  • ११ जेष्ठ २०७९, बुधबार १७:५४ प्रकाशित