पोखरा ।
पोखरा महानगरपालिकाको मतगणना स्थगित भएपछि नेपाली कांग्रेसका कार्यकर्ताहरुले निर्वाचन अधिकृत कार्यालयअगाडि नाराबाजी गरेका छन्। कांग्रेसका कार्यकर्ताहरुले ‘मतगणना जारी गर’ भन्दै निर्वाचन अधिकृत कार्यालयअगाडि नाराबाजी गरेका हुन्।
मतगणनाका क्रममा नेकपा (एमाले) का प्रतिनिधि मतगणना स्थलमा नआएपछि गणना रोकिएको छ। खाना खान गएका एमालेका प्रतिनिधि मतगणना स्थलमा नफर्किएपछि पोखरामा जारी मतगणना रोकिएको हो।
पोखरामा वडा नम्बर २२, ३२ र ३३ को मतगणना जारी छ। वडा १८ को पुनः मतगणना गर्नुपर्ने माग राख्दै एमालेले निवेदन दिएपछि एमालेका प्रतिनिधि पनि मतगणनास्थल नआएका हुन्।
वडा नम्बर १८ मा नेकपा एमाले ३ मतले नेपाली कांग्रेससँग पराजित भएको थियो । उक्त वडामा ३२९२ मत मध्ये सूर्यले १६४० र कांग्रेसले १६४३ मत प्राप्त गरेको छ । मुचुल्कामा भन्दा ९ मत कम भेटिएको थियो ।
पोखरामा प्रमुख पदमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले जित निश्चित गरेका छन् भने उपप्रमुखमा मञ्जुदेवी गुरुङको अग्रता छ।