अमेरिकी सहायक विदेशमन्त्री लु नेपालमा, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट गर्ने

केन्द्रभाग मिडिया

काठमाडौँ ।
दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आएका छन् । दक्षिण एसियाली मुलुकको भ्रमणमा रहेका सहायक विदेशमन्त्री लु एकदिनका लागि मात्र नेपाल भ्रमणमा आएका हुन् ।

यस क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ  । परराष्ट्र स्रोतका अनुसार साढे ४ बजे मन्त्री साउद र अमेरिकी सहायक विदेशमन्त्री लूबीच मन्त्रालयमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

यसैगरी काठमाडौंमा रहँदा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्ने समेत दूतावासले जनाएको छ ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ । तर भेटमा अन्य कुनै पनि राजनीतिक र कूटनीतिक विषयमा छलफल नहुने र प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति समवेदना व्यक्त गर्ने कार्यक्रम मात्रै रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री र लूबीच बेलुकी ६ बजे बालुवाटारमा नै भेट हुनेछ ।

अमेरिकन चेम्बर अफ कमर्सका एक सदस्य संस्थासँग भेटघाट गर्ने र नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा सीप प्रदान गर्न उनीहरूले गरेका प्रयासबारे बुझ्ने समेत दूतावासले जनाएको छ ।

 

  • २९ असार २०८०, शुक्रबार १२:५३ प्रकाशित