पोखरा ।
पत्रकार दीपेन्द्र श्रेष्ठलाई यस वर्षको ‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार–२०८०’ प्रदान गरिएको छ ।
तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुको बैवाहिक वर्ष गाँठको अवसरमा प्रदान गरिँदै आएको सो पुरस्कार शुक्रवार नेपाल पत्रकार महासंघ गण्डकीका सल्लाहकार एवं नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष श्रेष्ठलाई प्रदान गरिएको हो ।
प्रतिनिधि सभा कास्की निर्बाचन क्षेत्र नम्बर १ सदस्य मनबहादुर गुरुङ, पुरस्कार दाता कर्मकुमारी गुरुड, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमु, नेवा खलस् कास्कीका अध्यक्ष अशोक पालिखे लगायतले १० हजार रुपैयाँसहित फेटा, भाङ्ग्रा र सम्मानपत्रले सम्मान गरेका थिए ।
पत्रकार हुमबहादुर गुरुङको संयोजकत्वमा एम.बि आस्था मगर, शान्ति गुरूङ, उदय अमात्य र दिल प्रसाद गुरुङको छनौट समितिले श्रेष्ठलाई सिफारिस गरेको थियो ।
तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म गुरुङले स्थापना गरेको सो पुरस्कार आदिवासी जनजाती पत्रकार संघ (फोनिज) कास्कीले सञ्चालन गर्दै आइरहेको छ ।
यसअघि, सो पुरस्कारबाट रीता गुरुङ, हर्क आले, शान्ति गुरुङ, तिलक पुन, राजबहादुर गुरुङ, मानबहादुर घर्तिमगर ९एमबी आस्था०, हुमबहादुर गुरुङ, उदयबहादुर अमात्य र रुद्रबहादुर श्रीस पुरस्कृत भइसकेका छन् ।
फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद तमुको अध्यक्षतामा भएको कार्यक्रममा नवगठित तमु संचारकर्मी संघ कास्की र तामाङ पत्रकार संघ कास्कीका कार्यसमिति सदस्यहरूलाई समेत बधाई ज्ञापन गरिएको थियो ।














