पोखरा ।
पोखराको सभागृह चोक देखि चिप्लेढुंगाको वीपीचोकसम्म निर्माण गरिएको डिभाइडरमा अब ढकमक्क फूल फुल्ने भएको छ । सोमबार विहान महानगरका प्रमुख धनराज आचार्य उपप्रमुख मञ्जु गुरुङसहित महानगरका कर्मचारीर सहभागीले एक्जोरा फूलको विरुवा रोपेर यसको सुरुवात गरेका छन् ।
प्रमुख आचार्यले निर्वाचित भएर सपथ लिएसंगै जिरो किलोमिटर देखि हल्लनचोक सम्मको सडक डिभाइडरमा फूल रोपेर फूलैफूलको सहर बनाउने घोषण गरेका थिए । सोमबार पनि उनले विरुवा रोप्दै अब न्युरोडको सडक डिभाइडर सबै सिजनमा फूलैफूलले ढकमक्क बनाइने उल्लेख गरे । अन्य स्थलमा पनि सहरी सौन्दर्यलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
महानगरले वसन्त नर्सरी मार्फत एक्जोराका विरुवा मगाएको हो । वसन्त नर्सरीका सञ्चालक वसन्त बानियाँले एक्जोरा फूलको प्रति विरुवा ७ सय रुपैयाँ पर्ने जानकारी दिए । यद्यपी महानगरलाई सस्तोमा विरुवा उपलब्ध गराइएको उनले बताए । ‘यो (एक्जोरा फूल) विरुवालाई हामी एउटाको सात सय रुपैयाँमा बेच्छौं । महानगरलाई हामीले मात्र ६ सय रुपैयाँमा उपलब्ध गराएका छौं । यसको तीन महिना रेखदेख गर्ने र मलखाद समेतको व्यवस्था सबै हामीले नै गर्ने हो’ उनले भने । उनका अनुसार डिभाईडरमा सभागृह देखि चिप्लेढुंगासंग झण्र्डै ८५० विरुवा रोपिनेछ । केही महिनामा नै डिभाइडर पुरै विरुवाले ढकमक्क भरिने जानकारी दिए ।
पोखरा महानगरका वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलका अनुसार गत २६ मंसिरमा अहिले फूल रोपिएको डिभाइडर निर्माणका लागि निर्माणको कार्यादेश दिइएको थियो । ३१ बैशाखसम्म उक्त डिभाइडर निर्माण भइसक्नु पर्नेमा विभिन्न ठाउँमा क्रसिङ राख्नुपर्ने भन्दै अबरोध गर्दा डिभाइडर निर्माणमा ढिलाई भएको हो ।
१ करोड १० लाखको लागतमा उक्त डिभाइडर निर्माण गरिएको हो । डिभाइडर निर्माणमा ढिलाई भएको भन्दै पोखरा महानगरको सामाजिक सञ्जालमा समेत आलोचना भएको थियो ।