पोखरा ।
गण्डकी प्रदेशको बजेट बहुमतले पारित भएको छ। सरकारकातर्फबाट अर्थमन्त्री जीतप्रकाश आलेले असार १ गते प्रदेश सभामा पेश गरेको आगामी वर्षको बजेट आज शुक्रबार बहुमतले पारित भएको हो। गण्डकी प्रदेश सरकारले पोहोरभन्दा डेढ अर्ब सानो ३३ अर्ब ४२ करोेड ७२ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
बजेटप्रति सत्तापक्षकै सांसदले तीव्र असन्तुष्टी जनाएका थिए भने प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले २ पटकसम्म प्रदेश सभा नै अवरोध गरेको थियो ।
सरकारको नीति तथा कार्यक्रम र बजेटसँग तालमेल नभएको र सांसदको योजना काटेर कर्मचारीको योजना हालिएको भन्दै सत्तापक्षकै सांसदले असन्तुष्टि जनाउँदै बजेटमा कर्मचारीतन्त्र हाबी भएको आरोप लगाएका थिए ।













