साविक लेखनाथ महानगरको प्राथमिकतामा छ, मन भाँड्ने कुरा नगरौं : मेयर आचार्य

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मन भाँचिने कुरा नगर्न लेखनाथ छुट्याउने अभियानमा लागेकाहरुलाई आग्रह गरेका छन् । बुधबार लेखनाथ उद्योग वाणिज्य संघले आफ्नोे २७ औं स्थापना दिवशको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूपनि लेखनाथ क्षेत्रबाट नै निर्वाचित भएको भन्दै ‘लेखनाथवासीलाई चित्त नबुझ्ने विषय के छ ? आउनुहोस् टेवलमा बसेर कुरा गरौं’ भनेका छन् ।

महानगरका अरु वडाको चर्चा गर्र्दै उनले कोर सहरी वडामा भन्दा लेखनाथका वडामा धेरै बजेट दिइएको बताए । वडा नम्बर–२ मा २ करोड रुपैयाँ भन्दापनि कम बजेट रहेको दृष्टान्त दिँदै उनले साविक ‘लेखनाथका वडामा कुन वडामा ५ करोड भन्दा कम छ ?’ भनेर सोधेका छन् । ‘वडा नम्बर–२ मा २ करोड रुपैयाँ विनियोजन छैन यता (साविक लेखनाथ) को सबै वडामा ५ करोड रुपैयाँ दरले भन्दा कम छैन । कसले यता प्राथमिकतामा परेन भनेका छौं र यस्तो (लेखनाथ छुट्याउने) कुरा गरेको छौं’ उनले भने ।

प्रदेश सरकारले के गरिरहेको छ भनेर आफूले नहेरेको तर महानगरले साविक लेखनाथलाई प्राथिमकतामा राखेको उनको जिकिर छ । पञ्चासे देखि पुम्दुी हुँदै अन्य ग्रामिण वडाहरुको अवस्था हेर्न उनले आग्रह गरे । पछि गाउँपालिका बाट महानगरमा मिसिएका वडालाई पनि महानगरको महसुस् गराउने दायित्व आफूमा रहेको उनले बताए । उनले सबै कुराको तुलना गरेर हेर्न साविक लेखनाथवासीलाई आग्रह गरेका छन् ।

‘हिजै निर्णय गर्ने प्रक्रियामा त्रुटी भएको भए अर्कोकुरा हो । गलत नै भएको ठहरिन्छ भनेपनि राज्य पुनसंरचना पछि २० वर्ष हेनुपर्ने र कार्यपालिकामा दुई तिहाइको प्रोसेसमा जानुपर्ने प्रावधान छ जस्तो लाग्छ । म लेखनाथ क्षेत्रकै बासिन्दा हो । सकिएनछ भने म पनि भनौंला । तर, रात पर्नलाई साँझ पर्नै पर्छ । अहिले नै रात पार भनेर म सक्दिन । समय आउनु दिनुहोस् । त्यसपछि कुरा गर्नुहोस् । अहिले नै यो भयो र भएन भन्ने बेला होइन’ उनले भने ।

उनले थपे, ‘महानगरमा ३३ वटा वडामा अहिले पनि ७०० किलोमिटर बाटो धुले बाटो छ । साविकको लेखनाथमा जोडिएका वडाहरु पछि जोडिएको गाविस भन्दा धेरै सुगम क्षेत्र हो । सिंगो महानगरलाई पर्यटकीय राजधानी बनाउने योजनामा छौं । पर्यटकीय राजधानी भएको पोखरा भित्र साविक लेखनाथ अझै प्राथमिकतामा छ । तालचोक–बेगनास बाटो निर्माणको काम अगाडि बढेको छ । रुपा र बेगनास लगायतलाई आधुनिकढंगले विकास गर्ने योजना अगाडि बढाएका छौं । मन भाँचिने कुरा नगरौं । म पनि लेखनाथबाट निर्वाचित भएको हुँ । बेमौसमको बाजा बजाउँदा कसैलाई पनि फाइदा हुँदैन’

प्रमुख आचार्यले औद्योगिक क्षेत्र हिजो पुग्ने भएपनि अब सार्नुपर्ने अवस्था आएको बताए । सुक्ला गण्डकी र पुँडिटारमा १७ सय रोपनी जग्गा नेपाल सरकारबाट प्राप्त भएको जानकारी दिँदै उनले यसलाई प्रदेश सरकारसंग मिलेर छिटो भन्दा छिटो निर्माणमा अगाडि बढने योजनामा रहेको जानकारी दिए ।

 

  • २० असार २०८०, बुधबार १८:०५ प्रकाशित